काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीति व्यवहारमै कार्यान्वयन गर्दै पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्याय सुनिश्चित गर्न सबै पक्षलाई आह्वान गरेका छन् ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको सुरुवातका अवसरमा सन्देश जारी गर्दै उनले लैङ्गिक हिंसा मानव अधिकारको गम्भीर उल्लङ्घन भएको बताएका छन् । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सीमान्तकृत समुदाय हिंसाबाट बढी प्रभावित भइरहेको उल्लेख गर्दै उनले डिजिटल माध्यमबाट हुने हिंसालाई पनि चुनौतीका रूपमा औँल्याएका छन् ।
प्रधानमन्त्री शाहले हिंसा रोकथाम, पीडितको संरक्षण, न्यायमा पहुँच र दोषीलाई कानुनी कारबाही सुनिश्चित गर्न कानुनको प्रभावकारी कार्यान्वयन तथा तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेको बताएका छन् । विपद्का समयमा लैङ्गिक हिंसाको जोखिम बढ्न सक्ने भएकाले विशेष सतर्कता अपनाउन पनि उनले आग्रह गरेका छन् ।
हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन हुने अभियान यस वर्ष ‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता : पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने नाराका साथ सुरु भएको हो ।









