काठमाडौं । प्रधानसेनापति अशोक राज सिग्देलले नेपाली सेनामा पदोन्नति भएका सैनिक अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
मन्त्रिपरिषद्को मंसिर ४ गतेको निर्णयअनुसार रथी दर्जामा पदोन्नति भएका उपरथी अनुपजंग थापालाई प्रधान सेनापति सिग्देलले सोमबार जङ्गी अड्डामा आयोजित कार्यक्रममा दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
सोही अवसरमा उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी मनोज थापालाई पनि दर्ज्यानी चिन्ह प्रदान गरिएको थियो। त्यसैगरी सहायक रथी दर्जामा पदोन्नति भएका प्राविधिक महासेनानी जगत शाह, महासेनानी पंकज रावल र महासेनानी शितल बानियाँ तथा महासेनानी दर्जामा पदोन्नति भएका प्राविधिक प्रमुख सेनानी अरविन्द श्रेष्ठलाई समेत दर्ज्यानी चिन्ह प्रदान गरिएको नेपाली सेनाले जनाएको छ ।
कार्यक्रममा रथीवृन्द, सैनिक अधिकृत तथा पदोन्नति भएका अधिकृतका परिवारजनको उपस्थिति रहेको थियो ।









