काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदद्वय आशिका तामाङ र केपी खनालबीच विवाद भएको छ ।
सांसद तामाङले खनाललाई एउटा जनमुद्दाबारे कुरा गर्न फोन गर्दा उनको स्वकीय सचिवले ह्वाट्सएपमार्फत मात्र सम्पर्क गर्न आग्रह गरेको भन्दै सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेपछि विवाद भएको हो ।
सांसद तामाङले सामान्य मोबाइल प्रयोग गर्ने सर्वसाधारण नागरिकले इन्टरनेटबिना आफ्ना समस्या जनप्रतिनिधिसमक्ष कसरी पुर्याउने भन्दै प्रश्न गरेकी छन् ।
तामाङले लेखेकी छन्- 'एउटा जनता बाट निर्वाचित सांसदले आफ्नो कुरा राख्न सञ्चार गर्न इन्टरनेट चाहिने रहेछ भने सर्वसाधारण नागरिकले आफ्नो नेतासम्म गुनासो कसरी पुर्याउन सक्छन् ?'
उनका अनुसार खनालले पछि आफैँ फोन गरेर आफ्नो काम फोन उठाउने नभई जनताको मुद्दा उठाउने भएको बताएका थिए । खनालले आफूलाई विभिन्न ठाउँबाट दबाब रहेको भन्दै तामाङलाई यस विषयमा गुनासो नगर्न आग्रह गरेको पनि उनको भनाइ छ ।
तामाङले खनाललाई आफूले फोन गर्दा प्रत्यक्ष संवाद गर्न सक्ने तर सर्वसाधारण नागरिकले पनि त्यस्तै सुविधा पाउनुपर्ने बताएकी छन् । उनले भनेकी छन्- हामी सबै सांसद जनताको सेवा गर्न आएका हौँ । आज तपाईं तीन करोड जनताको साझा छोरा हुनुहुन्छ ।'
उनले सांसदका सहयोगी टोली भए पनि कतिपय विषयमा नागरिकले प्रत्यक्ष सांसदसँगै संवाद गर्नुपर्ने भन्दै सम्पर्कका लागि ह्वाट्सएपलाई मात्रै विकल्प नबनाउन आग्रह गरेकी छन् ।









