काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको दुईदिने राजकीय भ्रमणका लागि आज दिउँसो नयाँ दिल्ली प्रस्थान गर्दैछन् । प्रधानमन्त्री बनेपछि शाह पहिलो पटक छिमेकी मुलुकको राजकीय भ्रमणमा जान लागेका हुन् ।
प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज दिउँसो १:४५ बजे नेपाल एयरलाइन्सको विमानबाट दिल्ली प्रस्थान गर्नेछन् । प्रधानमन्त्री शाहलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री शाहको स्वागतका लागि विमानस्थलदेखि राष्ट्रपति भवनसम्म विशेष तयारी गर्दै विभिन्न स्थानमा दुवै देशका झन्डा राखिसकिएको छ ।
दिल्ली पुगेपछि उनको पहिलो औपचारिक राजनीतिक भेट भारतीय विदेशमन्त्री एस. जयशंकरसँग होटल ताजमा आजै हुने तालिका छन् ।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति द्रौपदी मुर्मू, भारतीय समकक्षी नरेन्द्र मोदीसँग सोमबार वार्ता गर्ने कार्यक्रम तय भएको छ ।
सोमबार बिहान प्रधानमन्त्री शाहलाई गार्ड अफ अनरसहित राजकीय सम्मान दिने कार्यसूची रहेको छ ।
प्रधानमन्त्री शाहले भारतीय समकक्षी मोदीसँग सोमबार द्विपक्षीय वार्ता गर्ने छन् भने सोमबारनै हैदराबाद हाउसमै दुई देशका प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलन हुने कार्यसूची रहेको छ । साथै प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले नयाँदिल्लीस्थित हैदराबाद हाउसबाट श्रव्यदृश्य माध्यममार्फत रेलसेवाको उद्घाटन गर्नेछन् ।
प्रधानमन्त्री शाहसँगै भारत भ्रमणमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारीहरू, व्ययवसायी र पत्रकारलगायत सहभागी हुदैछन् । साथै निजी क्षेत्रबाट ५२ जनाको टिम आफ्नै खर्चमा प्रधानमन्त्री शाहसँगै भारत भ्रमणमा जाने परराष्ट्र मन्त्रालयले जनाएको छ ।









