• २०८३ मङ्सिर ६ आइतबार

रेलसेवाले जोडिँदै जनकपुर र अयोध्या, बालेन र मोदीले संयुक्त उद्घाटन गर्दै

रेलसेवाले जोडिँदै जनकपुर र अयोध्या, बालेन र मोदीले संयुक्त उद्घाटन गर्दै

जनकपुरधाम । भगवान् राम र माता सीताको ऐतिहासिक तथा धार्मिक सम्बन्धलाई रेलमार्गले जोड्दै नेपालको जनकपुरधाम र भारतको अयोध्याबीच साप्ताहिक द्रुत रेलसेवा सञ्चालन हुने भएको छ । 

भारतको अयोध्यास्थित भगवान् रामको जन्मस्थल र नेपालको जनकपुरस्थित माता सीताको जन्मस्थललाई जोड्ने यो रेलसेवाले दुई देशबीचको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय सम्बन्ध थप बलियो बनाउने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा आगामी मंसिर ७ गते रेलसेवाको संयुक्त उद्घाटन हुने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीस्थित हैदराबाद हाउसबाट श्रव्यदृश्य माध्यममार्फत रेलसेवाको उद्घाटन गर्नेछन् । 

भारतीय रेल मन्त्रालयले जनकपुरधामदेखि अयोध्या क्यान्टसम्म रेल सञ्चालनका लागि स्वीकृति प्रदान गरिसकेको छ । रेल नम्बर १५५९५ र १५५९६ अन्तर्गत जनकपुरधाम–अयोध्या क्यान्ट रेलसेवा नरकटियागन्ज हुँदै सञ्चालन हुनेछ । यसअघि नै १७ डिब्बासहितको भारतीय रेल जनकपुरधाम ल्याएर प्राविधिक परीक्षणसमेत गरिएको थियो । नेपाल र भारतका रेल्वे तथा सुरक्षा निकायका अधिकारीहरूले रेलमार्ग, सुरक्षा र भौतिक संरचनाको संयुक्त निरीक्षण गरेका थिए ।

जनकपुरधामबाट प्रत्येक शनिबार र अयोध्या क्यान्टबाट प्रत्येक सोमबार रेल सञ्चालन गर्ने तयारी छ । १७ डिब्बाको रेलले भारतका १० वटा प्रमुख स्थानमा यात्रु चढाउने र ओराल्नेछ । जयनगर, मधुबनी, शिशो, सीतामढी, रक्सौल, नरकटियागन्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्याधाम यसका निर्धारित बिसौनी रहेका छन् । जनकपुरधामदेखि अयोध्यासम्मको करिब ६०४ किलोमिटर दूरी पार गर्न १५ देखि १६ घण्टा लाग्नेछ ।

रेलसेवाले मधेस प्रदेशको पर्यटन, व्यापार र आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । अयोध्या आउने भारतीय पर्यटकलाई जनकपुरधामसम्म आकर्षित गर्न रेलसेवा प्रभावकारी माध्यम बन्न सक्ने र जनकपुरलाई पर्यटन केन्द्रका रूपमा विकास गरेर भारतीय पर्यटकलाई लुम्बिनी, पोखरालगायतका पर्यटकीय गन्तव्यसम्म पुर्‍याउन पनि सहज हुने विश्लेषण गरिएको छ ।

रेलसेवा उद्घाटनका क्रममा अयोध्या क्यान्ट रेल्वे स्टेसनमा उत्तर प्रदेशकी राज्यपाल आनन्दीबेन पटेल, मुख्यमन्त्री योगी आदित्यनाथ, केन्द्रीय रेलमन्त्री अश्विनी वैष्णव तथा अन्य उच्च अधिकारीले हरियो झन्डा देखाउने कार्यक्रम तय भएको छ । रेलको भाडादर र टिकट व्यवस्थापन भने तत्कालका लागि भारतीय रेल्वेले नै गर्ने बताइएको छ ।

यसैबीच, नयाँ अन्तरदेशीय रेलसेवा सुरु हुने तयारी भइरहँदा जनकपुरधाम–जयनगर रेलसेवाको व्यवस्थापन सुधार गर्नुपर्ने आवाज पनि उठेको छ । जनकपुरधामका रेल्वे स्टेसनको सरसफाइ, खानेपानी, शौचालय, यात्रु सुविधा र भौतिक संरचनाको मर्मतसम्भारमा ध्यान दिन सरोकारवालाले माग गरेका छन् । नयाँ रेलसेवाले पर्यटक आकर्षित गर्ने भएकाले नेपालमा सञ्चालित विद्यमान रेलसेवालाई पनि व्यवस्थित र गुणस्तरीय बनाउनुपर्ने उनीहरूको भनाइ छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै