सर्लाही । सर्लाहीमा कुटपिटबाट गम्भीर घाइते भएका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले १९ वर्षीय युवकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार हरिपुर्वा नगरपालिका–९, बस्तिपुरका ७४ वर्षीय वासुदेव साह तेली र उनकी ७३ वर्षीया श्रीमती जिबछी देवीलाई गत कात्तिक ११ गते राति करिब १० बजे घरभित्रै सुतिरहेको अवस्थामा कुटपिट गरिएको थियो । उनीहरू बिहान अबेरसम्म नउठेपछि जेठी छोरी घरमा पुगेर ढोका खोल्दा दुवै जना टाउको र अनुहारमा गम्भीर चोट लागेर घाइते अवस्थामा भेटिएका थिए ।
घटनाको जानकारी पाएपछि पुगेको प्रहरी टोलीले दुवै घाइतेलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाएको थियो । उपचारकै क्रममा वासुदेवको मंसिर ३ गते मृत्यु भएको प्रहरीले जनाएको छ। उनकी श्रीमतीको उपचार भइरहेको छ ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले हरिपुर्वा नगरपालिका–९ बस्तिपुरकै १९ वर्षीय शंकरकुमार यादवलाई पक्राउ गरेको छ । उनी घटनापछि आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ परेका थिए। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रहरीका अनुसार घटनामा संलग्न व्यक्ति र मृतक पक्षबीच गाँजा खरिदबिक्रीका विषयमा विवाद भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका यादवमाथि ज्यान मार्ने उद्योग तथा ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









