काठमाडौं । रूसको दक्षिणपश्चिम साइबेरियामा मंगलबार सैन्य मालवाहक विमान दुर्घटना हुँदा विमानमा सवार सबै १९ जनाको मृत्यु भएको छ ।
रुसी सञ्चारमाध्यमका अनुसार दुर्घटनाग्रस्त विमान उडिरहेको अवस्थामा आगलागी भएपछि सिधै जमिनमा खसेको थियो। दुर्घटनाको कारण भने खुल्न सकेको छैन । प्रारम्भिक विवरणमा विमानको उपकरणमा खराबी आएको आशंका गरिएको छ ।
केमेरोभो क्षेत्रका गभर्नर इल्या सेरेद्युकेले यागुनोभो गाउँ नजिक विमान दुर्घटना भएको पुष्टि गरेका छन् । दुर्घटनाग्रस्त विमान एएन–१२ सैन्य मालवाहक विमान रहेको बताइएको छ ।
एएन–१२ चार इन्जिनयुक्त मालवाहक विमान हो। यसको प्रयोग सैनिक, हतियार, गोलाबारुद तथा अन्य आवश्यक सामग्री ढुवानीका लागि गरिँदै आएको छ । सोभियतकालमा निर्माण गरिएको यो विमान अहिले पनि रूससहित विभिन्न देशमा प्रयोग हुँदै आएको छ ।









