• २०८३ मङ्सिर २ बुधबार

वडा सदस्यको हस्ताक्षर किर्ते गरेको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

वडा सदस्यको हस्ताक्षर किर्ते गरेको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

सर्लाही । वडा सदस्यको हस्ताक्षर किर्ते गरी गाउँसभाबाट नीति तथा कार्यक्रम पारित गरेको आरोपमा सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिहासन राय पक्राउ परेका छन् ।

रायलाई बसबरिया गाउँपालिका–१ स्थित आफ्नै घरबाट प्रहरीले पक्राउ गरेको हो ।

आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न २०८० असार १० गते आयोजित गाउँसभामा अनुपस्थित रहेकी एक वडा सदस्यको हस्ताक्षर किर्ते गरी नीति तथा कार्यक्रम पारित गरिएको भन्दै जिल्ला प्रहरी कार्यालय सर्लाहीमा उजुरी परेको थियो ।

उक्त उजुरीका आधारमा सरकारी कागज किर्तेसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी प्रहरीले अनुसन्धान अघि बढाएको थियो । सर्लाही जिल्ला अदालतबाट २०८३ असोज १६ गते पक्राउ अनुमति प्राप्त भएपछि ५५ वर्षीय रायलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका गाउँपालिका अध्यक्ष रायमाथि सरकारी कागज किर्तेसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै