• २०८३ मङ्सिर १ मंगलबार

पत्रकार महासंघ आन्दोलित, चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा

पत्रकार महासंघ आन्दोलित, चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारको श्रम अधिकार सुनिश्चित गर्न माग गर्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

महासंघका महासचिव रामप्रसाद दाहालले मंगलबार जारी गरेको विज्ञप्तिमा सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति अनुदार व्यवहार देखाएको र पत्रकारको श्रम अधिकार उल्लंघन गरेको आरोप लगाइएको छ ।

समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने उद्देश्यले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास भइरहेको तथा सञ्चारमाध्यमका कार्यालय अगाडि अनधिकृत रूपमा गाडी तेर्स्याएर अवरोध पुर्‍याउनेमाथि कारबाही नभएको भन्दै महासंघले गम्भीर आपत्ति जनाएको छ ।

त्यस्तै, गोरखापत्रलगायत सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबर्जस्ती निष्कासन गरी श्रम अधिकार उल्लंघन गरिएको महासंघको भनाइ छ । पत्रपत्रिकाले प्राप्त गर्दै आएको लोककल्याणकारी विज्ञापनको रकमसमेत प्रेस काउन्सिल नेपालको सिफारिसअनुसार कार्यान्वयन नगरिएको विज्ञप्तिमा उल्लेख छ ।

घोषित आन्दोलनका कार्यक्रमअनुसार महासंघले मंसिर २ गते प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउने भएको छ । मंसिर ५ गते संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुखहरूलाई ध्यानाकर्षणपत्र पठाउने कार्यक्रम तय गरिएको छ । 

यसैगरी, मंसिर ५ र ६ गते शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जालसँग छलफल गर्ने तथा मंसिर ७ गते महासंघका सबै जिल्ला शाखाले सञ्चारसम्बद्ध संघसंस्थासँग छलफल गर्ने कार्यक्रम रहेको छ ।

महासंघले मंसिर ९ गते देशभरका जिल्ला प्रशासन कार्यालय अगाडि ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ लेखिएको ब्यानरसहित भेला भएर विरोध प्रदर्शन गर्ने जनाएको छ ।

महासंघले घोषित कार्यक्रमबाट पनि आफ्ना माग सम्बोधन नभए थप कडा आन्दोलनका कार्यक्रम तय गर्न बाध्य हुने चेतावनी दिएको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै