• २०८३ मङ्सिर १ मंगलबार

आइपिएलको अक्सनअघि यी खेलाडीहरुको भयो ट्रेड

आइपिएलको अक्सनअघि यी खेलाडीहरुको भयो ट्रेड

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२७ अघि राजस्थान रोयल्स र लखनउ सुपर जायन्ट्सबीच तीन खेलाडीको साटफेर भएको छ ।

भारतीय तीव्र गतिका बलर मोहम्मद शमी राजस्थान जाने भएका छन् भने इंग्ल्यान्डका अलराउन्डर साम करन लखनउमा आबद्ध हुनेछन् । लखनउका बायाँहाते स्पिनर एम. सिद्धार्थ पनि राजस्थान जाने भएका छन् ।

यसैगरी, सनराइजर्स हैदराबादका तीव्र गतिका बलर हर्षल पटेल गुजरात टाइटन्समा जाने भएका छन् । ईएसपीएनको रिपोर्टअनुसार गुजरातले हर्षललाई टोलीमा भित्र्याउन ४ करोड भारतीय रुपैयाँ नगद दिने सहमति गरेको छ । यससँगै गुजरातको खेलाडी खरिद बजेटबाट ४ करोड रुपैयाँ घट्नेछ ।

राजस्थानले गत सिजन प्लेअफमा स्थान बनाए पनि सुरुवाती ६ ओभरमा बलिङ कमजोर देखिएको थियो । टोलीले पावरप्लेमा प्रतिओभर १०.१४ रन खर्चिएको थियो । यस्तो अवस्थामा शमीको आगमनले राजस्थानको सुरुवाती बलिङ बलियो बनाउने अपेक्षा गरिएको छ । ३६ वर्षीय शमीले आईपीएल २०२६ मा लखनउबाट १३ खेल खेल्दै १२ विकेट लिएका थिए। उनको इकोनोमी दर ९ रहेको थियो ।

लखनउले साम करनलाई भित्र्याएसँगै ब्याटिङ र बलिङ दुवैमा योगदान दिन सक्ने अलराउन्डर पाउनेछ । करन यसअघि पञ्जाब किङ्स र चेन्नई सुपर किङ्सबाट खेलिसकेका छन् । चोटका कारण उनी आईपीएल २०२६ मा सहभागी हुन सकेका थिएनन् । सन् २०२२ मा इंग्ल्यान्डलाई टी–२० विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका करन प्रतियोगिताको उत्कृष्ट खेलाडीसमेत बनेका थिए । लखनउका नियमित कप्तान ऋषभ पन्त दिल्ली क्यापिटल्स फर्किएपछि करनलाई कप्तानीको दाबेदारका रूपमा पनि हेरिएको छ ।

यता, हर्षल पटेलले आईपीएल २०२५ मा हैदराबादबाट १३ खेलमा १६ विकेट लिएका थिए । तर २०२६ मा पाँच खेल खेल्दा विकेट लिन सकेनन् । उनले सन् २०२१ मा रोयल च्यालेन्जर्स बैंगलोरबाट ३२ र सन् २०२४ मा पञ्जाबबाट २४ विकेट लिँदै दुई पटक पर्पल क्याप जितेका छन्। गुजरात उनको पाँचौँ आईपीएल टोली हुनेछ ।

आईपीएल २०२७ का लागि सबै १० टोलीले नोभेम्बर १७ सम्म आफूले कायम राख्ने र रिलिज गर्ने खेलाडीको सूची बुझाउनुपर्नेछ ।  आगामी सिजनको खेलाडी अक्सन डिसेम्बर १६ मा गोवामा हुनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै