• २०८३ कार्तिक ३० सोमबार

जेलमा रहेका इमरान खानले लेखे न्यायाधीशहरुलाई पत्र

जेलमा रहेका इमरान खानले लेखे न्यायाधीशहरुलाई पत्र

काठमाडौँ । पाकिस्तानका जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानले आफ्नो र पत्नी बुशरा बीबीको स्वास्थ्य अवस्था बिग्रँदै गएको भन्दै उचित उपचारको व्यवस्था गर्न देशका सर्वोच्च अदालतका न्यायाधीशहरूसँग अपिल गरेका छन् । उनले आफ्नो स्वास्थ्य अवस्था यस्तै रहे ज्यानसमेत जान सक्ने चेतावनी दिएका छन् ।

इमरानका वकिल सलमान सफदरले सोमबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको खुला पत्रमा उनले लामो समयदेखि एकान्त कारावासमा राखिएको र आवश्यक उपचार नपाएको आरोप लगाएका छन् । ७४ वर्षीय इमरानले आफ्नो रक्तचाप खतरनाक अवस्थामा पुगेको र चिकित्सकहरूले मस्तिष्कघात तथा हृदयाघातको जोखिम रहेको बताएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्- '७४ वर्षको उमेरमा पनि यस्तो अवस्था निरन्तर रहँदा म यस्तो स्थितिमा पुग्दै छु, जहाँबाट सायद जीवित फर्कन सक्ने छैन ।'

उनले पत्नी बुशरा बीबीको आँखाको ज्योति कमजोर हुँदै गएको भन्दै उपचारको व्यवस्था गर्न माग गरेका छन् । बुशराको गत अप्रिलमा आँखाको पर्दासम्बन्धी समस्या देखिएपछि शल्यक्रिया गरिएको थियो । तर त्यसपछि उनलाई पुनः एकान्त कारावासमा राखिएको र चिकित्सकसँग भेटघाट तथा स्वास्थ्य विवरण हेर्नसमेत नदिइएको इमरानको आरोप छ ।

इमरानले सर्वोच्च अदालतले गत अगस्ट १८ मा आफूलाई इस्लामाबादस्थित शिफा अन्तर्राष्ट्रिय अस्पतालमा स्थानान्तरण गर्न, स्वास्थ्य परीक्षणका लागि चिकित्सक टोली गठन गर्न र परिवारसँग भेटघाटको व्यवस्था गर्न दिएको आदेश कार्यान्वयन नभएको बताएका छन् । उनले आफूलाई दैनिक २२ घण्टासम्म एकान्त कारावासमा राख्ने गरिएको र परिवार तथा वकिलसँगको भेटघाट, पुस्तक पढ्ने तथा टेलिभिजन हेर्ने सुविधासमेत सीमित गरिएको दाबी गरेका छन् ।

यसैबीच, तोशाखाना–२ मुद्दामा इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्ष जेल सजाय सुनाइएको छ । सन् २०२१ मा साउदी युवराजले उपहार दिएको महँगो बुल्गारी गरगहनाको खरिदसँग सम्बन्धित यो मुद्दामा फैसला भएको हो । इमरान सन् २०२३ अगस्टदेखि विभिन्न मुद्दामा जेलमा छन् भने उनकी पत्नीलाई सन् २०२५ जनवरीमा भ्रष्टाचार मुद्दामा पक्राउ गरिएको थियो । उनको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफले भने उनीमाथिको कानुनी कारबाही राजनीतिक प्रेरित रहेको आरोप लगाउँदै आएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै