दाङ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत धानखोलादेखि लमहीसम्मको सडक चौडा तथा सडक सतह पुनःस्थापना गर्न प्रयोग गरिने आधुनिक उपकरण दाङ आइपुगेको छ ।
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्टअन्तर्गत बन्ने सडक मर्मत आयोजनाका लागि फूल डेप्थ रिक्लेमेसन उपकरण ल्याइएको हो । नेपालमै पहिलो पटक प्रयोग गर्न लागिएको यो प्रविधिबाट पुरानो सडकमा रहेको अस्फाल्टलगायत सामग्री पुनःप्रयोग गरी टिकाउ, किफायती र वातावरणमैत्री सडक निर्माण गरिने एमसीए नेपालले जानकारी दिएको छ । एमसीए नेपालले यो प्रविधिमार्फत सडक मर्मत कार्यलाई थप प्रभावकारी र कुशल बनाउने लक्ष्य राखेको छ ।
फुल डेप्थ रिक्लेमेसन (एफडीआर) सडक पुनःस्थापना गर्ने आधुनिक प्रविधि हो । यस प्रक्रियामा पुरानो सडकको अस्फाल्ट र त्यसको तल्लो तहका सामग्रीलाई विशेष उपकरणले पिसेर एकै ठाउँमा मिसाइन्छ । त्यसमा पानी र सिमेन्टलगायतका बाँध्ने सामग्री थपेर बलियो बनाइन्छ। त्यसपछि आवश्यक आकार दिई थिचेर नयाँ आधार तयार गरिन्छ र त्यसमाथि अस्फाल्ट वा अन्य सतह निर्माण गरिन्छ ।
यो प्रविधिले सडकमा देखिने गहिरा खाल्डा, चिरा, भासिने र सतह बिग्रने समस्या समाधान गर्न सहयोग गर्छ । परम्परागत रूपमा सडक पूर्ण रूपमा भत्काएर पुनर्निर्माण गर्नुभन्दा ४० देखि ८० प्रतिशतसम्म कम खर्च लाग्ने, पुरानै सडकका सामग्री पुनःप्रयोग हुने र निर्माण सामग्री ढुवानीको आवश्यकता घट्ने यसको मुख्य विशेषता हुन् । साथै, निर्माण अवधि छोटिने भएकाले यातायात अवरोध पनि कम हुन्छ ।
आयोजनाअन्तर्गत धानखोला–लमही सडकको चौडाइ १२ मिटर बनाइनेछ । जसमा सात मिटर चौडाइको मुख्य सडक र दुवैतर्फ साढे दुई–साढे दुई मिटरका सडक किनारा निर्माण गरिने जानकारी दिइएको छ ।









