• २०८३ कार्तिक २९ आइतबार

इजरायलमा राष्ट्रिय सरकार गठनको पहल, नेतन्याहूले गरे सहकार्यको अपिल

इजरायलमा राष्ट्रिय सरकार गठनको पहल, नेतन्याहूले गरे सहकार्यको अपिल

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले देशमा राष्ट्रिय एकताको सरकार गठनका लागि विपक्षी नेता गादी आइजेनकोटसँग सहकार्यको प्रस्ताव अघि सारेका छन् । इरानबाट उत्पन्न सुरक्षा चुनौतीसहित देशसामु रहेका समस्याको सामना गर्न सबै राजनीतिक शक्तिलाई समेटेर सरकार बनाउनुपर्ने उनको प्रस्ताव छ ।

नेतन्याहूले आइजेनकोटलाई प्रत्यक्ष संवादका लागि आह्वान गर्दै राष्ट्रिय एकताको सरकार गठनको पहल गरेका हुन् । उनले यस्तो सरकारमार्फत देशको सुरक्षा चुनौती सामना गर्न र राष्ट्रिय हितका विषयमा राजनीतिक दलहरूबीच साझा धारणा बनाउन सकिने बताएका छन् ।

यसअघि इजरायलका राष्ट्रपति इसाक हर्जोगले संसद्का विभिन्न दलसँगको परामर्शपछि नयाँ सरकार गठनको जिम्मेवारी आइजेनकोटलाई दिएका थिए । संसद्का ६७ सदस्यले आइजेनकोटको पक्षमा समर्थन जनाएका थिए भने ४६ सदस्यले नेतन्याहूलाई समर्थन गरेका थिए । उनले सरकार गठनका लागि २८ दिनको समय पाएका छन्, जसलाई थप १४ दिन बढाउन सकिने व्यवस्था छ ।

आइजेनकोटले नेतन्याहू नेतृत्वको सरकारमा सहभागी नहुने अडान राख्दै लिकुड दलसँग भने आफ्नो नेतृत्वमा सहकार्य गर्न सकिने सङ्केत गरेका छन् । उनले अतिवादी राजनीतिक शक्तिसँगको गठबन्धन अन्त्य गर्नुपर्ने सर्त अघि सारेका छन् । उनको प्रस्तावित सरकारलाई संसद्मा समर्थन जुटाउन अरबी दल तथा अन्य समूहको भूमिका महत्त्वपूर्ण देखिएको छ ।

तर नेतन्याहूले भने अरबी दलको समर्थनमा बन्ने सरकारबाट देशको सुरक्षा सुनिश्चित हुन नसक्ने दाबी गर्दै यहुदी बहुमत भएका दलहरूलाई समेटेर सरकार बनाउनुपर्ने बताएका छन् । यही विषयलाई लिएर दुवै नेताबीच मतभेद बढेको छ ।

आइजेनकोटले नेतन्याहूको पछिल्लो प्रस्तावलाई राजनीतिक देखावटी भन्दै अस्वीकार गरेका छन् । उनले लिकुड र आफ्नो दलका वार्ता टोलीबीच छलफल तय भइसकेको उल्लेख गर्दै नेतन्याहूले एकताको कुरा गरे पनि संसद्मा विभाजनकारी राजनीति गरिरहेको आरोप लगाएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै