बर्दिया । बर्दियाको गुलरिया नगरपालिका–११ लालपुरस्थित हुलाकी सडकखण्डमा मिनिबस र मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
शनिबार दिउँसो गुलरियाबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.५ ख ५६०५ नम्बरको मिनिबस र विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बर प्लेटको सीएचओ१सीएम ९४३७ नम्बरको मोटरसाइकल ठोक्किएका थिए । ठक्करपछि मिनिबस पल्टिएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक भारतको चण्डीगढ निवासी ३४ वर्षीय हुकुमबहादुर खत्री र मोटरसाइकलमा पछाडि सवार नामथर तथा ठेगाना नखुलेका अन्दाजी ५५ देखि ६० वर्षीय पुरुषको मृत्यु भएको छ ।
दुवै जनालाई उपचारका लागि बर्दिया जिल्ला अस्पताल, गुलरिया पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा घाइते भएका १५ जनाको विवरण र अवस्थाबारे भने उपलब्ध विवरणमा खुलाइएको छैन ।









