• २०८३ कार्तिक २८ शनिबार

माइक्रोसफ्टको प्राविधिक खराबीले विश्वभर असर

माइक्रोसफ्टको प्राविधिक खराबीले विश्वभर असर

काठमाडौं । माइक्रोसफ्टको अनलाइन सेवामा आएको प्राविधिक खराबीले विश्वका विभिन्न देशका सरकारी निकाय, बैंक, विमान सेवा, अस्पताल तथा निजी कम्पनीहरूको कामकाज प्रभावित भएको छ ।

हङकङमा बैंकिङ सेवा, अस्ट्रेलियामा गुप्तचर तथा प्रहरी सेवा, जापानमा सरकारी प्रणाली र फिलिपिन्समा अदालतको कामकाज प्रभावित भएको छ । विभिन्न देशका विद्यालय र अस्पतालमा समेत समस्या देखिएको छ ।

भारतमा पनि हवाई सेवा प्रभावित हुँदा स्पाइसजेटले दिल्लीबाट उडान भर्ने तीनवटा विमान रद्द गरेको थियो भने दरभंगा र मुम्बई जाने दुई उडान ढिला भएका थिए । दिल्ली विमानस्थलले यात्रुलाई विमानस्थल जानुअघि उडानको अवस्था जाँच गर्न आग्रह गरेको थियो। एयर इन्डियाले भने आफ्नो उडान सञ्चालनमा असर नपरेको जनाएको थियो ।

माइक्रोसफ्ट आउटलुक, टिम्स, सेयरपोइन्ट, कोपाइलट, डिफेन्डर र एक्सचेन्ज अनलाइनलगायत सेवा प्रभावित भएका थिए । यसले इमेल, अनलाइन बैठक, फाइल आदानप्रदान तथा कार्यालयका नियमित काम रोकिएका थिए । आउटलुक सञ्चालनमा समस्या आएको भन्दै विश्वभरबाट एक लाख ४० हजारभन्दा बढी उजुरी परेको तथ्याङ्क सार्वजनिक भएको थियो ।

माइक्रोसफ्टका अनुसार सफ्टवेयर अद्यावधिकमा आएको त्रुटिका कारण समस्या उत्पन्न भएको हो । कम्पनीले यसमा साइबर आक्रमण वा ह्याकिङको कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ । समस्या समाधानका लागि गरिएका प्रयास अपेक्षाअनुसार सफल नभएपछि कम्पनीले वैकल्पिक उपाय परीक्षण गरिरहेको जनाएको छ ।

विश्वभर ४३ करोडभन्दा बढी मानिसले माइक्रोसफ्ट ३६५ का विभिन्न सेवा प्रयोग गर्दै आएका छन् । यसमा निर्भर लाखौँ कम्पनीको दैनिक कामकाजसमेत प्रभावित भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै