काठमाडौँ । अस्ट्रेलियाले तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलाको पहिलो खेलमा इंग्ल्यान्डलाई ७ विकेटले पराजित गरेको छ ।
पर्थमा शुक्रबार भएको खेलमा इंग्ल्यान्डले दिएको १३२ रनको लक्ष्य अस्ट्रेलियाले २३.३ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्ड ३३.४ ओभरमा १३१ रनमै समेटिएको थियो। इंग्ल्यान्डका लागि गस एट्किन्सनले सर्वाधिक अविजित २९ रन बनाए। विल ज्याक्सले २५ र टम ब्यान्टनले २५ रनको योगदान दिए ।
अस्ट्रेलियाका २१ वर्षीय तीव्र गतिका बलर माह्ली बेहर्दमले एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गर्दै २४ रन खर्चिएर ६ विकेट लिए । उनको यो प्रदर्शन अस्ट्रेलियाका पुरुष खेलाडीमध्ये एकदिवसीय अन्तर्राष्ट्रिय डेब्युमा अहिलेसम्मकै उत्कृष्ट बलिङ बनेको छ । स्पेन्सर जोन्सनले तीन विकेट लिए ।
१३२ रनको सामान्य लक्ष्य पछ्याएको अस्ट्रेलियाका लागि कप्तान मिचेल मार्सले २९ बलमा ५० रन बनाए। उनले चार चौका र चार छक्का प्रहार गरे । म्याट रेनश र जोस इंग्लिसले अविजित रहँदै टोलीलाई जित दिलाए ।
यस जितसँगै अस्ट्रेलियाले तीन खेलको शृङ्खलामा १–० को अग्रता बनाएको छ । दोस्रो एकदिवसीय खेल नोभेम्बर १६ मा हुनेछ ।









