• २०८३ कार्तिक २६ बिहीबार

पोचेटिनोलाई म्यानचेस्टर युनाइटेडको प्रशिक्षक बनाउने तयारी

पोचेटिनोलाई म्यानचेस्टर युनाइटेडको प्रशिक्षक बनाउने तयारी

काठमाडौँ । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडको मुख्य प्रशिक्षक बन्न अर्जेन्टिनाका माउरिसियो पोचेटिनो तयार देखिएका छन् ।

क्लबले वर्तमान प्रशिक्षक माइकल क्यारिकलाई हटाउने तयारी गर्दै पोचेटिनोसँग छलफल अघि बढाएको छ ।

अमेरिकी राष्ट्रिय टोलीका प्रशिक्षकसमेत रहेका ५४ वर्षीय पोचेटिनोले जिम्मेवारी स्वीकार गर्ने तय भएको छ । उनलाई अमेरिकी टोलीको सम्झौताबाट मुक्त गर्न म्यानचेस्टर युनाइटेडले १ करोड अमेरिकी डलर तिर्नुपर्ने बताइएको छ।

क्लबले क्यारिकको भविष्यबारे निर्णय गर्ने र उनको स्थानमा पोचेटिनोलाई भित्र्याउने तयारि गरेको छ । 

प्रिमियर लिगका सुरुवाती १० खेलमध्ये एकमा मात्रै जित निकालेको युनाइटेड अहिले रेलिगेसन क्षेत्रमा १८औँ स्थानमा छ । सन् १९८६–८७ यताकै लिगको यस चरणमा क्लबको यो सबैभन्दा कमजोर स्थान हो ।

पोचेटिनोले यसअघि साउथह्याम्पटन, टोटनहम, पिएसजी र चेल्सीको प्रशिक्षकका रूपमा काम गरिसकेका छन् । उनको नेतृत्वमा टोटनहम सन् २०१९ मा च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो ।

उनले सन् २०२४ सेप्टेम्बरदेखि अमेरिकी राष्ट्रिय टोलीको जिम्मेवारी सम्हाल्दै आएका छन्। अमेरिकालाई सन् २०२६ को विश्वकपको अन्तिम १६ सम्म पुर्‍याएका पोचेटिनोको युनाइटेड आगमनबारे अब औपचारिक निर्णय हुन बाँकी छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै