• २०८३ कार्तिक २६ बिहीबार

विवादमा परेका हुआङलाई मस्कको समर्थन

विवादमा परेका हुआङलाई मस्कको समर्थन

काठमाडौँ । अमेरिकी अर्बपति तथा प्रविधि व्यवसायी एलन मस्कले एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङलाई आफ्नो कम्पनीमा नियुक्त गर्न पाउनु सम्मानको विषय हुने बताएका छन्।

हुआङको नेतृत्वबारे एनभिडियाको सञ्चालक समितिमा छलफल भइरहेका बेला मस्कले सामाजिक सञ्जाल एक्समार्फत उनलाई समर्थन गर्दै यस्तो प्रतिक्रिया दिएका हुन्।

कृत्रिम बौद्धिकतासम्बन्धी लगानीकर्ता ग्याभिन बेकरले स्वतन्त्र अनुसन्धानको नतिजा नआएसम्म एनभिडियाको सञ्चालक समितिले हुआङलाई पदबाट हटाउने निर्णय गर्न नहुने धारणा सार्वजनिक गरेका थिए । उक्त पोस्टको प्रतिक्रियामा मस्कले ‘१००’ को सङ्केत प्रयोग गर्दै समर्थन जनाएका थिए ।

त्यसैगरी, वित्तीय समाचारसम्बन्धी सञ्चारमाध्यम जिरोहजको अर्को पोस्टमा प्रतिक्रिया दिँदै मस्कले हुआङलाई नियुक्त गर्न पाउनु सम्मानको विषय हुने बताएका हुन् ।

हुआङको नेतृत्वमा एनभिडियाले सन् २०२५ को अन्त्यतिर मस्कको कृत्रिम बौद्धिकता कम्पनी एक्सएआईमा दुई अर्ब अमेरिकी डलरसम्म लगानी गर्ने सहमति गरेको थियो । एक्सएआई अहिले मस्कको अन्तरिक्ष कम्पनी स्पेसएक्सको हिस्सा बनिसकेको छ । 

सन् २०२५ अक्टोबरमा अमेरिकी सञ्चारमाध्यम सीएनबीसीसँग कुरा गर्दै हुआङले मस्कको कम्पनीमा अझ बढी लगानी नगर्नु आफ्नो एक मात्र पछुतो भएको बताएका थिए । उनले मस्क संलग्न भएका प्रायः सबै काममा आफू पनि सहभागी हुन चाहने धारणा व्यक्त गरेका थिए ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै