• २०८३ कार्तिक २५ बुधबार

बुल्गेरियामा बाक्लो हुस्सुका कारण ८६ सवारीसाधन एकआपसमा ठोक्किए, १२ जनाको मृत्यु

बुल्गेरियामा बाक्लो हुस्सुका कारण ८६ सवारीसाधन एकआपसमा ठोक्किए, १२ जनाको मृत्यु

काठमाडौं । बुल्गेरियामा बाक्लो हुस्सुका कारण भएको भीषण सडक दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन् ।

मंगलबार राजधानी सोफिया र कालासागर तटीय सहर बुर्गास जोड्ने राजमार्गमा ८६ वटा सवारीसाधन एकआपसमा ठोक्किएका थिए ।

अधिकारीहरूका अनुसार बाक्लो हुस्सुका कारण चालकहरूले अगाडि रहेका सवारीसाधन देख्न नसक्दा दुर्घटना भएको हो । सुरुमा राजमार्गको पूर्वतर्फ जाने लेनमा दुर्घटना भएको थियो । त्यसको केही समयपछि विपरीत दिशाबाट सोफियातर्फ आउने लेनमा पनि सवारीसाधन ठोक्किएका थिए ।

दुर्घटनापछि सवारीसाधनमा फसेका यात्रुलाई उद्धार गर्न सुरक्षाकर्मीले सडक किनारका अवरोधकसमेत काट्नुपरेको थियो । बाक्लो हुस्सुका कारण घाइतेलाई अस्पताल पुर्‍याउन हेलिकोप्टरसमेत प्रयोग गर्न नसकिएको अधिकारीहरूले बताएका छन् । दुर्घटनाका क्रममा एउटा सवारीसाधनमा आगलागीसमेत भएको थियो ।

दुर्घटनापछि राजमार्ग दुवैतर्फबाट बन्द गरिएको छ । क्षतिग्रस्त सवारीसाधन र सडकमा छरिएका अवशेष हटाएपछि मात्रै राजमार्ग पुनः सञ्चालन गरिने जनाइएको छ ।

घटनापछि बुल्गेरियाकी राष्ट्रपति इलियाना योतोभाले फ्रान्सको पेरिसमा भइरहेको शान्ति मञ्चको कार्यक्रम बीचमै छाडेर स्वदेश फर्किने निर्णय गरेकी छन् । त्यस्तै, प्रधानमन्त्री रुमेन रादेभले युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनसँगको भेट छाडेर दुर्घटनास्थलतर्फ प्रस्थान गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै