• २०८३ कार्तिक २४ मंगलबार

दशौँ राष्ट्रिय खेलकुद: कुन खेल कहाँ हुँदैछन् ?

दशौँ राष्ट्रिय खेलकुद: कुन खेल कहाँ हुँदैछन् ?

काठमाडौँ । कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुदका कुल ३२ मध्ये २३ खेल मुख्य आयोजक स्थल सुर्खेतमा हुने निश्चित भएको छ । कर्णालीमा भौगोलिक कठिनाइ र पुर्वाधारका कारण पनि यसपटक सुर्खेतमै धेरै खेल खेलाइने भएको हो ।

प्राविधिक समितिबाट अनुमोदित तालिकाअनुसार प्रतियोगिताको औपचारिक उद्घाटन आगामी मंसिर १६ गते सुर्खेत रंगशालामा हुनेछ भने समापन मंसिर २७ गते तय गरिएको छ ।  

तर, औपचारिक उद्घाटनअघि नै मंसिर ८ गतेदेखि पुरुष तथा महिला क्रिकेट, पुरुष फुटबल, पुरुष तथा महिला ह्यान्डबल, महिला बास्केटबल, टेनिस र पौडीसहित ६ वटा खेलको प्रतिस्पर्धा भने सुरू भइसक्नेछ । क्रमश: अन्य खेल पनि खेलाइदै लगिने बताइएको छ । मुख्य आयोजक जिल्ला सुर्खेतमा प्रतियोगिताका अधिकांश ठूला मैदानी, इनडोर र मार्शल आर्ट्सका खेलहरू सञ्चालन हुनेछन् । 

सुर्खेतमा एथ्लेटिक्स, पुरुष फुटबल, क्रिकेट, भलिबल, हक्की, रग्बी र साइक्लिङजस्ता मैदानी खेलहरू हुनेछन् । त्यसैगरी कराते, तेक्वान्दो, फुल कन्ट्याक्ट कराते, उसु र बक्सिङजस्ता फाइटिङ खेलका साथै ब्याडमिन्टन, टेबल टेनिस, जिम्न्यास्टिक, ह्यान्डबल, स्क्वास र बास्केटबल सुर्खेतमै खेलाइनेछ । यसबाहेक कबड्डी, आर्चरी, भारत्तोलन, ईस्पोर्ट्स र सेपाकताक्रो गरी कुल २३ खेल सुर्खेतमै सम्पन्न हुने तय भएको छ ।

कर्णाली प्रदेशका अन्य जिल्लाहरूमा भने पूर्वाधार र भौगोलिक अनुकूलताका आधारमा केही खेलहरू विभाजन गरिएको छ । जसअन्तर्गत दैलेखमा आईटीएफ तेक्वान्दो, कालिकोटमा बुद्धिचाल, सल्यानमा जुडो र कुस्ती तथा पश्चिम रुकुममा शारीरिक सुगठनका खेलहरू आयोजना गरिनेछन् ।

कर्णाली प्रदेशमा आवश्यक पूर्वाधार अभावका कारण प्रतियोगिताका केही खेलहरू छिमेकी लुम्बिनी प्रदेशमा समेत सञ्चालन गरिनेछ। यसअनुसार पौडी र सुटिङका खेलहरू नेपालगञ्ज (बाँके) मा आयोजना हुनेछन् भने टेनिस र खो-खोका खेलहरू बर्दियामा खेलाइने तय भएको छ । 

यसरी कुल ३२ खेलमध्ये २३ खेल सुर्खेतमा, ५ खेल कर्णालीका अन्य चार जिल्लामा र ४ खेल लुम्बिनी प्रदेशका दुई जिल्लामा विभाजन गरेर दशौँ राष्ट्रिय खेलकुद आयोजना गर्न लागिएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै