काठमाडौं । टर्कीको पश्चिमी क्षेत्रमा रहेको इजमिर सहरनजिकै एक स्टिल कारखानामा भएको विस्फोटमा परी १७ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
अलियागास्थित हबास डेमिर सेलिक स्टिल कारखानामा उक्त दुर्घटना भएको हो । अधिकारीहरूका अनुसार मृत्यु हुने र घाइते हुने सबै कारखानामा कार्यरत मजदुर हुन् ।
स्थानीय गभर्नरका अनुसार दिउँसो क्रेनमार्फत नयाँ बोइलर (भट्टीमा प्रयोग हुने उपकरण) ओसार्ने क्रममा क्रेन खसेको थियो । त्यस क्रममा बोइलरसँग सम्बन्धित उपकरण भट्टीमा खसेपछि शक्तिशाली विस्फोट भएको थियो ।
घटनास्थलका दृश्यमा कारखानाभित्र ठूलो आगलागी भएको र आकाशमा धुवाँको बाक्लो मुस्लो उठेको देखिएको थियो ।
टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोगानले सुरुमा १६ जनाको मृत्यु भएको जानकारी दिएका थिए । पछि स्वास्थ्य मन्त्री केमल मेमिसोग्लुले गम्भीर घाइते एक जनाको समेत मृत्यु भएपछि मृतकको संख्या १७ पुगेको बताएका छन् ।









