काठमाडौं । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ नयाँडाँडामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ ।
सोमबार दिउँसो थापागाउँबाट नयाँडाँडातर्फ आउँदै गरेको भे १ च ३११२ नम्बरको डबल क्याप जीप ब्याक गर्ने क्रममा अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको थियो । जीप आठबिसकोट नगरपालिका–४ का २५ वर्षीय प्रदीप विकले चलाएका थिए ।
दुर्घटनामा आठबिसकोट नगरपालिका–५ का १० वर्षीय हरिबहादुर थापा र २९ वर्षीय लक्ष्मीराम थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा १९ वर्षीया जुना कुमारी थापा, ३५ वर्षीय वीरबहादुर थापा, २३ वर्षीया सीता थापा, २३ वर्षीया जुनि थापा, ८ वर्षीय युवराज थापा र ४ वर्षीया विरता थापा गम्भीर घाइते भएका छन्। त्यस्तै, दुई जना मध्यम र पाँच जना सामान्य घाइते भएका छन् ।
मध्यम तथा सामान्य अवस्थाका ६ जना घाइतेलाई नगर अस्पताल राडी पठाइएको छ। अन्य घाइतेलाई पनि उपचारका लागि पठाउने पहल भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि चालक फरार रहेकाले उनको खोजी भइरहेको छ। घटनास्थलमा प्रहरी टोली परिचालन गरी थप अनुसन्धान भइरहेको छ ।









