• २०८३ कार्तिक २३ सोमबार

लघुकथा: एकदिने माया

लघुकथा: एकदिने माया

कुकुरतिहारको दिन खैरे खानपीनमा अघाएर हैरान भयो।

बिहानभरि टोलका मान्छेहरू आए; माला लगाइदिए र अनेक परिकार दिए। खैरेले खुरूखुरू खायो।

गलामा मालामाथि माला थुप्रिएपछि खैरेलाई लाग्यो — “सबैको दिन आउँछ भन्थे; हो रहेछ। आज त आफू पनि संसदीय चुनाव जितेर मन्त्री भएपछि गाउँपालिकामा आइपुगेको कुनै समाजवादी नेताभन्दा कम भइएन।”

दश बज्दा नबज्दै खैरेले खानपीनमा रुचि देखाउन छाडिसकेको थियो। त्यसपछि त उसले बिस्कुट पनि खाएन; सेलरोटीमा पनि रुचि राखेन।

कुकुरतिहारका दिन पहिलोपटक खैरेले आफूलाई माया गर्ने मानिसहरूको संख्याबारे अन्दाज गर्‍यो। अनि मनमनै भन्यो — “छ्या! मेरो मन पनि कस्तो पापी! म त मलाई सबैले हेला गर्छन्; सबैले छि छि दूर दूर मात्र गर्छन् भन्ने पो सोच्दो रहेछु।”

आज खैरे कसैले ‘च्यूँ’ भनेर बोलाउँदा पनि नजाने भएको छ। “खान बोलाएका होलान्। के के खानु? कति खानु? भयो, पुग्यो।”

तर मान्छेहरूले छाडे पो! खैरे जहाँ छ; त्यही ल्याएर मिठामिठा परिकार राखिदिने।

माया पोखिएपछि यस्तो हुँदोरहेछ। खैरेले खाना लिएर आउने हरेक मान्छेको अनुहार हेर्‍यो। तीमध्ये धेरैजसो अनुहार त हिजोसम्म खैरेलाई सताउने मानिसकै थिए।

कुकुरतिहारको दिन खैरेलाई लाग्यो — “यी मानिसहरूले मलाई माया गर्न कुकुरतिहार नपर्खिए कस्तो मज्जा हुन्थ्यो। एक दिन मात्र मालामाथि माला थुपारेर होइन; यो माया वर्षभरि अलिअलि पँज्याइने हो भने कति गज्जब हुन्थ्यो।”

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै