• २०८३ कार्तिक २१ शनिबार

क्यानभाको हटाइएका कर्मचारीलाई साथ: ६ महिनाको तलबदेखि नयाँ रोजगारी खोज्न सहयोग गर्ने

क्यानभाको हटाइएका कर्मचारीलाई साथ: ६ महिनाको तलबदेखि नयाँ रोजगारी खोज्न सहयोग गर्ने

काठमाडौँ । चर्चित डिजाइन तथा तस्बिर सम्पादनसम्बन्धी अस्ट्रेलियन कम्पनि क्यानभाले विश्वभरका १२७१ कर्मचारीलाई सेवाबाट हटाउने भएको छ । यो कम्पनीको कुल कर्मचारी संख्याको करिब २२ प्रतिशत हो ।

कम्पनीकी प्रमुख कार्यकारी अधिकृत मेलानी पर्किन्सले कर्मचारी कटौतीको घोषणा गर्दै यो निर्णय कम्पनीको इतिहासकै कठिन वर्षको परिणाम भएको बताएकी छन् ।

क्यानभाले कर्मचारी हटाउने घोषणा गरेपनि कर्मचारीलाई कम्तीमा ६ महिनाको तलब दिने, नयाँ रोजगारी खोज्न सहयोग गर्ने, एक वर्षसम्म निःशुल्क लिङ्क्डइन प्रिमियम सुविधा दिने तथा जीवनवृत्त सुधार, करियर परामर्श र अन्तर्वार्ताको तयारीमा सहयोग गर्ने घोषणा गरेपछि यसको चर्चा भएको छ ।

विश्वका ठुला कम्पनिले कर्मचारीलाई हटाउदा यसरी सुबिधा र सहयोगको घोषणा गरेको पहिलो पटक भएको भन्दै यसको चौतर्फी चर्चा भएको छ ।

कर्मचारी कटौतीमा परेकाहरूलाई कम्पनीले कम्तीमा ६ महिनाको तलब दिने भएको छ । साथै उनीहरूले प्रयोग गर्दै आएको ल्यापटप आफैँसँग राख्न पाउनेछन् । कम्पनीले नयाँ रोजगारी खोज्न सहयोग गर्ने, एक वर्षसम्म निःशुल्क लिङ्क्डइन प्रिमियम सुविधा दिने तथा जीवनवृत्त सुधार, करियर परामर्श र अन्तर्वार्ताको तयारीमा सहयोग गर्ने जनाएको छ ।

त्यस्तै, कर्मचारीले पाउने कम्पनीको सेयरसम्बन्धी एक वर्ष सेवा पूरा गर्नुपर्ने सर्त पनि हटाइएको छ । स्वास्थ्य सुविधा उपलब्ध गराइएका देशमा कर्मचारी र उनीहरूका परिवारलाई थप एक वर्ष स्वास्थ्य सेवा दिइनेछ ।

आफ्नै व्यवसाय वा सामुदायिक परियोजना सुरु गर्न चाहने कर्मचारीलाई कम्पनीले १० हजार अमेरिकी डलरसम्म आर्थिक सहयोग गर्ने भएको छ । यसका लागि डिसेम्बर १४ सम्म आवेदन दिन सकिनेछ ।

क्यानभाले विश्वका ३७ देशमा ५ हजार ७०० भन्दा बढी कर्मचारीलाई रोजगारी दिँदै आएको छ । तर कर्मचारी कटौतीबाट कुन देश र विभाग बढी प्रभावित हुने भन्ने स्पष्ट भइसकेको छैन ।

यसैबीच, मनोरञ्जन क्षेत्रको ठूलो कम्पनी डिज्नीले पनि वार्षिक खर्च २० प्रतिशत घटाउन व्यवस्थापकहरूलाई निर्देशन दिएको छ। यसले एबीसी, पिक्सार, ईएसपीएनलगायतका विभागमा कर्मचारी कटौती हुन सक्ने अनुमान गरिएको छ। पछिल्लो समय माइक्रोसफ्ट र गुगलजस्ता ठूला प्रविधि कम्पनीले पनि कर्मचारी संख्या घटाउने प्रक्रिया अघि बढाएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै