• २०८३ कार्तिक २० शुक्रबार

डा. बाबुराम भट्टराईको टिप्पणी- दल र सरकारबीचको असमझदारी बढ्नु लोकतन्त्रका लागि शुभसंकेत होइन

डा. बाबुराम भट्टराईको टिप्पणी- दल र सरकारबीचको असमझदारी बढ्नु लोकतन्त्रका लागि शुभसंकेत होइन

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्तारुढ दलभित्र सरकार र पार्टीबीच असमझदारी बढ्दै गएको विषय सार्वजनिक हुन थालेकोप्रति चिन्ता व्यक्त गरेका छन् ।

उनले यस्तो अवस्था देश र लोकतन्त्रका लागि शुभसंकेत नभएको बताएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले नेपाली राजनीतिक इतिहासमा पार्टीभित्रका आन्तरिक संघर्ष र विभाजनले देश, लोकतन्त्र तथा जनतालाई ठूलो क्षति पुर्‍याएको स्मरण गराएका छन् ।

उनले भनेका छन्-' नवोदित सत्ताधारी दलभित्र सरकार र पार्टीवीचको असमझदारी बढ्दै गएको कुरा सार्वजनिक रूपमा पोखिन थाल्नु देश र लोकतन्त्रकोनिम्ति शुभसंकेत होइन ।'

उनले २००७ सालपछि नेपाली कांग्रेसमा बीपी कोइराला र मातृका कोइराला समूहबीचको संघर्ष, २०४७ पछि कांग्रेसमा ७४ र ३६ समूहको विवाद तथा २०५८ पछि गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवा समूहबीचको विभाजनलाई उदाहरणका रूपमा प्रस्तुत गरेका छन् ।

त्यस्तै, २०५२ पछि नेकपा एमालेमा महाकाली सन्धिको पक्षधर र विरोधी समूहबीचको विवाद तथा २०६४ पछि माओवादीमा संविधान निर्माण र जनविद्रोहको पक्षमा रहेका समूहबीचको अन्तर्संघर्षले पनि देशलाई नोक्सान पुर्‍याएको उनको भनाइ छ ।

‘इतिहास दोहोरिन्छ किनकि मान्छेले आफ्ना गल्ती दोहोर्‍याउँछन्,’ भट्टराईले लेखेका छन् ।

उनले जेन्जी विद्रोहको जगमा बनेको युवा बाहुल्य पार्टी र सरकारले विगतका राजनीतिक गल्ती नदोहोर्‍याउन सुझाव दिएका छन् । इतिहासबाट पाठ सिकेर पुराना गल्ती दोहोर्‍याउनुको सट्टा नयाँ इतिहास निर्माण गर्न उनले सत्तारुढ दल र सरकारलाई आग्रह गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै