काठमाडौं । काठमाडौं महानगरपालिकाले तिहार तथा दीपावलीलाई लक्षित गर्दै फूल तथा माला बिक्री वितरणका लागि महानगरभित्र ३३ स्थान तोकेको छ ।
महानगरपालिकाले सूचना जारी गर्दै प्लास्टिकजन्य फूल, माला तथा सजावटका सामग्री बिक्रीमा रोक लगाएको छ। स्वदेशी किसानले उत्पादन गरेका फूल तथा माला बिक्री वितरणलाई प्राथमिकता दिन महानगरले व्यवसायी, व्यापारी तथा सर्वसाधारणलाई आग्रह गरेको छ ।
महानगरपालिकाका अनुसार प्लास्टिकजन्य तथा गुणस्तर कायम नभएका फूल, माला र सजावटका सामग्री बिक्री गरेको पाइएमा जफत गरिनेछ । नेपाली किसानले उत्पादन गरेका फूल तथा माला बिक्रीका लागि महानगर प्रहरी बलले सरोकारवाला निकायसँग समन्वय गरी विभिन्न स्थान निर्धारण गरेको हो ।
महानगरले तोकेका बिक्रीस्थलमा नयाँ बानेश्वरस्थित एनबी सेन्टर, बिग मार्ट शंखमूल, आइप्लेक्स मल नयाँ बानेश्वर, सेल्सबेरी मध्य बानेश्वर, कनेक्स टावर बत्तीसपुतली, तीनकुने चौर, सिफल चौर, एसी कम्प्लेक्स कमलपोखरी, चाबहिल गणेशस्थान तरकारी बजार, केएल टावर अगाडि चाबहिल, स्वयम्भू धर्मचक्र पार्क, कालिमाटी बैंक्वेट, कालिमाटी चौबल, कलंकी भाटभटेनी, नयाँ बजार भ्याली कोल्ड स्टोर तथा माछापोखरीको बुद्ध मल्ल र गणेश्वर खाल्डो रहेका छन् ।
त्यस्तै, हाँडीगाउँ वडा नम्बर ४ को अगाडिको डबली र गणेश मन्दिर डबली, कोटेश्वर स्मार्ट, सेल्सबेरी महाराजगञ्ज, गोंगबु विष्णुमती, चप्पल कारखाना विष्णुमती, बालुवाटार विष्णुमती, कमलादीस्थित आइटी भवन, पुतलीसडकस्थित स्टार मल तथा विश्वज्योति हल अगाडि, अनामनगरस्थित भाटभटेनी अगाडि, टेकु बाल मन्दिर परिसर, सुन्धारास्थित काठमाडौं मल, न्युरोडको बज्र कम्प्लेक्सअन्तर्गत भोटेबहालको गुड मार्ट, लगन, जैसिदेवल र भृकुटीमण्डप पनि बिक्रीस्थलका रूपमा तोकिएका छन् ।
महानगरले स्वदेशी फूलको उत्पादन तथा व्यापार प्रवर्द्धन, नेपाली किसानलाई बजार उपलब्ध गराउने र प्लास्टिकजन्य सामग्रीबाट हुने वातावरणीय प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले यस्तो व्यवस्था गरेको जनाएको छ । महानगरले तिहारमा स्वदेशी फूल तथा माला प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।









