काठमाडौँ । पत्रकारविरुद्ध हुने अपराधमा दण्डहीनता अन्त्य गर्ने अन्तर्राष्ट्रिय दिवस आज नोभेम्बर २ मा विश्वभर मनाइँदैछ । सन् २०२६ को यस दिवसको नारा ‘धम्कीका स्वरूप फेरिँदै छन्, दण्डहीनता कायमै छ’ रहेको छ ।
यस वर्ष पत्रकारले सामना गरिरहेका नयाँ तथा बदलिँदा जोखिमलाई मुख्य विषय बनाइएको छ । डिजिटल माध्यमबाट हुने दुर्व्यवहार, धम्की, साइबर निगरानी, व्यक्तिगत विवरण सार्वजनिक गर्ने कार्य, मनपरी पक्राउ, पत्रकारलाई दबाब दिन दायर गरिने मुद्दा तथा अनलाइन हिंसाले पत्रकारिताको स्वतन्त्रतामा चुनौती थपिरहेका छन् । विशेषगरी महिला पत्रकार अनलाइन हिंसाको बढी जोखिममा पर्ने गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१३ डिसेम्बर १८ मा प्रस्ताव पारित गर्दै यो दिवस मनाउने घोषणा गरेको थियो । नोभेम्बर २ को मिति मालीमा सन् २०१३ को यही दिन हत्या गरिएका दुई फ्रान्सेली पत्रकार क्लाउड भेर्लोन र घिसलेन डुपोँको सम्झनामा छनोट गरिएको हो ।
विश्वभर पत्रकारको हत्यासम्बन्धी करिब ८५ देखि ८६ प्रतिशत घटनामा दोषीले सजाय पाउन सकेका छैनन् । द्वन्द्वग्रस्त क्षेत्रमा यस्तो दण्डहीनताको अवस्था झन्डै शतप्रतिशत पुग्ने गरेको छ । पत्रकारविरुद्ध हुने अपराधका दोषीलाई कारबाहीको दायरामा ल्याउन र पत्रकारको सुरक्षा सुनिश्चित गर्न विश्वभर विभिन्न सचेतना कार्यक्रम तथा नीतिगत छलफल आयोजना गरी यो दिवस मनाइँदैछ ।









