काठमाडौं । स्थापना भएको ३० वर्ष पूरा गरेको अवसरमा आर्य फार्माल्याबले नेपाल क्रिकेट संघ (क्यान) सँग नेपाल प्रिमियर लिग (एनपीएल) को स्वास्थ्य साझेदारका रूपमा तीन वर्ष सहकार्य गर्ने सम्झौता गरेको छ ।
सम्झौताअनुसार आर्य फार्माल्याबले त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने एनपीएलका खेलमा स्वास्थ्य परामर्श, स्वास्थ्य परीक्षण कक्ष तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नेछ। यसका साथै मनोरञ्जन र खेलकुदसम्बन्धी गतिविधि पनि आयोजना गरिने कम्पनीले जनाएको छ ।
सहकार्यअन्तर्गत खेलाडीको उत्कृष्ट प्रदर्शन र खेलभावनालाई प्रोत्साहन गर्न प्रत्येक खेलमा दुई खेलाडीलाई जनही २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । त्यस्तै, प्रत्येक खेलमा एक जना दर्शकलाई २० हजार रुपैयाँको ‘हटबिट मोमेन्ट अफ द म्याच’ पुरस्कार दिइनेछ ।
कम्पनीले आफ्नो ३०औँ वार्षिकोत्सवका अवसरमा सुरु भएको यस सहकार्यलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ । क्रिकेटजस्तो लोकप्रिय खेलमार्फत धेरैभन्दा धेरै नागरिकसम्म स्वास्थ्यसम्बन्धी सन्देश पुर्याउने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।









