• २०८३ कार्तिक १५ आइतबार

रौतहटका तीन ठेक्का तोडियो

रौतहटका तीन ठेक्का तोडियो

रौतहट । रौतहटस्थित सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले लामो समयदेखि निर्माण अलपत्र पारेका तीनवटा ठेक्का सम्झौता अन्त्य गरेको छ ।

पटक–पटक म्याद थप गर्दा पनि निर्माण व्यवसायीले काम सम्पन्न नगरेपछि सार्वजनिक खरिद ऐन तथा ठेक्का सम्झौताका सर्तअनुसार सम्झौता रद्द गरिएको कार्यालयले जनाएको छ ।

सम्झौता अन्त्य गरिएका योजनामा चन्द्रनिगाहपुर–गौर सडकअन्तर्गत लमहाखोला र लौकाहा खोलामा निर्माणाधीन दुई पुल तथा महेन्द्र राजमार्गको धन्सार–बागमती खण्डको सडक स्तरोन्नति रहेका छन् ।

दुवै पुल निर्माणको ठेक्का पप्पु–शिवशंकर जेभी र सडक स्तरोन्नतिको ठेक्का विशाल निर्माण सेवाले पाएको थियो । निर्माण कार्यमा ढिलाइ र लापरबाही भएको भन्दै कार्यालयले सम्झौता अन्त्य गरेको हो ।

कार्यालयले निर्माण व्यवसायीको कार्यसम्पादन जमानत जफत गर्ने, बाँकी सरकारी रकम असुल गर्ने र आवश्यक प्रक्रिया पूरा गरी कालोसूचीमा राख्ने कारबाही अघि बढाइने जनाएको छ । साथै, १५ दिनभित्र कार्यालयमा उपस्थित भई निर्माण कार्यको नापजाँच गराउन सूचनामार्फत आग्रह गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै