• २०८३ कार्तिक १५ आइतबार

अमेरिका र इरान युद्धको चेतावनीसँगै तनाव कम गर्न कूटनीतिक प्रयासमा

अमेरिका र इरान युद्धको चेतावनीसँगै तनाव कम गर्न कूटनीतिक प्रयासमा

काठमाडौं । अमेरिका र इरानबीचको तनाव फेरि बढ्दै गएको छ। इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले सेनाका वरिष्ठ कमान्डरहरूलाई कुनै पनि सुरक्षा चुनौतीको तत्काल र प्रभावकारी जवाफ दिन निर्देशन दिएका छन् । शत्रु पक्षबाट जुनसुकै प्रकारको खतरा उत्पन्न भए पनि भौगोलिक सीमाको परवाह नगरी जवाफी कारबाही गर्न उनले आदेश दिएका हुन् ।

सशस्त्र बलका वरिष्ठ अधिकारीहरूसँगको बैठकमा खामेनीले सेनालाई सबै प्रकारका चुनौती सामना गर्न तयार रहन निर्देशन दिएका थिए । शत्रुले पुनः सैन्य वा आतङ्ककारी आक्रमण गरे त्यसको जवाफ कसरी र कहिले दिने भन्ने निर्णय इरानी सेना र जनताले गर्ने उनको भनाइ थियो । उनले देशको सुरक्षा सुनिश्चित गर्न सैन्य तयारी र प्रतिरोध क्षमता मजबुत बनाउन पनि जोड दिएका छन् ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्न अमेरिकालाई कुनै हतार नभएको बताएका छन् । उनले इरान वार्ताका लागि इच्छुक रहेको दाबी गर्दै आर्थिक संकटका कारण त्यहाँ सेना र प्रहरीलाई तलब दिनसमेत कठिन भइरहेको बताएका छन् । करिब सात महिनादेखि जारी युद्धमा समय अमेरिकाको पक्षमा रहेको भन्दै उनले हतारमा निर्णय नगर्ने बताएका छन् ।

अर्कोतर्फ, दुई देशबीच तनाव कम गर्न कूटनीतिक प्रयास पनि जारी छ । प्रस्तावित सम्झौतामा इरानको उच्च संवर्धित युरेनियम तेस्रो देशमा पठाउने वा त्यसको संवर्धन स्तर घटाउने विषय समेटिएको छ । प्रारम्भिक सहमति भएको सात दिनभित्र रणनीतिक रूपमा महत्वपूर्ण होर्मुज जलमार्ग अन्तर्राष्ट्रिय जहाज आवागमनका लागि खुला गर्ने प्रस्ताव पनि अघि सारिएको छ । सम्झौता कार्यान्वयनमा चीनले प्रत्याभूतिकर्ताको भूमिका खेल्न सक्ने बताइएको छ ।

अमेरिका र इरानबीच प्रत्यक्ष वार्ताका लागि टर्कीको इस्तानबुलको सट्टा कतारको राजधानी दोहा सम्भावित स्थानका रूपमा अघि सारिएको छ । प्रस्तावित सम्झौताअनुसार इरानले आफ्नो आणविक कार्यक्रम र समुद्री सुरक्षासम्बन्धी विषयमा सहमति जनाए अमेरिकाले आर्थिक प्रतिबन्ध, नाकाबन्दी र अन्य पाबन्दीमा राहत दिन सक्नेछ । सम्झौता कार्यान्वयनको अनुगमन गर्न स्वतन्त्र संयन्त्र बनाउने प्रस्तावसमेत गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै