• २०८३ कार्तिक १४ शनिबार

बेगनास ताल किनारमा छैटौँ बेगनास माछा महोत्सव सुरु

बेगनास ताल किनारमा छैटौँ बेगनास माछा महोत्सव सुरु

काठमाडौं । पोखराको बेगनास ताल किनारमा छैटौँ संस्करणको बेगनास माछा महोत्सव सुरु भएको छ । होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथको आयोजनामा सुरु भएको महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका हुन् । महोत्सव कात्तिक २३ गतेसम्म सञ्चालन हुनेछ ।

उद्घाटन कार्यक्रममा नगर प्रमुख आचार्यले पोखरा महानगरभित्रका सबै ताललाई आपसमा जोड्ने सडक तथा अन्य सम्पर्क पूर्वाधार निर्माणको काम तत्काल अघि बढाइने बताए । उनले ताल संरक्षण, पर्यटन प्रवर्द्धन र विकासलाई एकीकृत रूपमा अघि बढाउने महानगरको योजना रहेको उल्लेख गरे । आचार्यले तालचोक–बेगनास सडक निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिँदै बेगनास तालमा जलविहार तथा अन्य जलक्रीडा सञ्चालनका लागि आवश्यक सहजीकरण गर्न सम्बन्धित पक्षलाई आग्रह गरे । शिशुवाचोकदेखि खुदीखोला पुलसम्मको सडक निर्माण सम्पन्न भएको र खुदीखोलादेखि रूपातालसम्मको सडक पनि निर्माणाधीन रहेको उनले बताए ।

महोत्सवमा बेगनास तालमा पाइने विभिन्न प्रजातिका स्थानीय माछाको प्रदर्शनी तथा माछाका परिकारको स्वाद लिन सकिने आयोजक संस्थाका अध्यक्ष सुरेश लामिछानेले जानकारी दिए । महोत्सव अवधिभर स्थानीय तथा राष्ट्रिय कलाकारको सांगीतिक प्रस्तुति पनि रहनेछ ।

महोत्सवले बेगनास तालको पर्यटकीय पहिचान विस्तार गर्नुका साथै स्थानीय माछा व्यवसाय, होटल तथा रेस्टुरेन्ट व्यवसाय र समग्र आर्थिक गतिविधिमा सहयोग पुग्ने आयोजकको अपेक्षा छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै