• २०८३ कार्तिक १४ शनिबार

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) मा करिब १२ करोड १३ लाख रुपैयाँ गैरकानुनी लाभ लिई संस्थानलाई आर्थिक हानि पुर्‍याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो । ब्युरोका अनुसार संस्थानका तत्कालीन महाप्रबन्धक, उच्च तहका अधिकारी, चिस्यान केन्द्रका प्रमुख तथा कर्मचारीहरूले पूर्वयोजना र मिलेमतोमा विभिन्न समूह बनाएर संस्थानलाई १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ हानि पुर्‍याई गैरकानुनी लाभ लिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

पक्राउ पर्नेमा तत्कालीन महाप्रबन्धक तथा हाल संस्थानको प्रशासन तथा व्यवस्थापन विभाग प्रमुखका रूपमा कार्यरत सञ्जीव झा, तत्कालीन सिम्ले चिस्यान केन्द्रका प्रमुख विजयकुमार यादव, भक्तपुर चिस्यान केन्द्रका तत्कालीन प्रमुख मनहरी शर्मा र चनौली चिस्यान केन्द्रका तत्कालीन प्रमुख रामकेवल राय रहेका छन् ।

त्यस्तै, संस्थानका कर्मचारी जितेन्द्रकुमार यादव, नवीन राय यादव, शिवनन्दन राय र विखबहादुर भण्डारी पनि पक्राउ परेका छन् । उनीहरूलाई काठमाडौं, कास्की, सर्लाही र चितवनका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको ब्युरोले जनाएको छ ।

उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत आपराधिक विश्वासघात तथा संगठित अपराध निवारण ऐन, २०७० बमोजिम अनुसन्धान भइरहेको छ । काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर नियन्त्रणमा लिइएका उनीहरूमाथि थप अनुसन्धान जारी रहेको ब्युरोले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै