काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिका–४ का वडा अध्यक्ष सन्तोष खड्कासहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
भूमि प्रशासन कार्यालय, लगनखेलका कर्मचारी र लेखापढी व्यवसायीको मिलेमतोमा जग्गाको अंशबन्डासम्बन्धी लिखत पारित गर्न सेवाग्राहीसँग तीन लाख रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।
आयोगका अनुसार भूमि प्रशासन कार्यालयका नायब सुब्बा विशाल सुन्दास, राजकुमार मगर तथा लेखापढी व्यवसायी शैलेन्द्र रानामगर र समिर कटवाललाई सेवाग्राहीबाट तीन लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो । अनुसन्धानका क्रममा भूमि प्रशासन अधिकृत अर्जुन देव योङ्या र नवीनकुमार गोलेसहित अन्य कर्मचारी तथा वडा अध्यक्षको संलग्नता देखिएको आयोगको दाबी छ ।
आयोगका अनुसार पुनः नापीबाट अद्यावधिक भएको जग्गाको विवरण लुकाएर पुरानै विवरणका आधारमा लिखत पारित गरिएको र सरकारी अभिलेखमा हेरफेर गरी जग्गाधनी स्रेस्ता तयार गरिएको थियो । यसरी गलत लिखत तयार गर्न र घुस रकम बाँडेर लिन मिलेमतो भएको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ ।
आयोगले नौ कर्मचारी तथा वडा अध्यक्षविरुद्ध तीन लाख रुपैयाँ बिगो कायम गरी घुस लिएको, गलत लिखत तयार गरेको र सरकारी अभिलेख सच्याएको कसुरमा सजाय माग गरेको छ। लेखापढी व्यवसायी दुई जनालाई पनि घुस प्रकरणमा मतियारका रूपमा मुख्य कसुरदारसरह सजाय गर्न माग गरिएको छ ।









