काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यवसायीको माग र उनीहरूले भोग्दै आएको समस्यालाई ध्यानमा राख्दै कम्पनी ऐन, २०६३ बमोजिम लाग्ने कर, शुल्क, दस्तुर, ब्याज तथा जरिवाना मिनाहासम्बन्धी व्यवस्था लागू गरेको छ ।
मन्त्रालयका अनुसार समयमै विवरण पेस नगरेका, नवीकरण नगरेका वा दाखिला गर्नुपर्ने कर, शुल्क, दस्तुर तथा जरिवाना बुझाउन बाँकी रहेका कम्पनीले यस व्यवस्थाबाट लाभ लिन सक्नेछन् ।
व्यवस्थाअनुसार आर्थिक वर्ष २०८२/८३ को विवरण तथा कानुनबमोजिम लाग्ने कर, शुल्क र दस्तुर २०८३ पुस मसान्तभित्र बुझाउनुपर्नेछ । तोकिएको अवधिमा विवरण पेस गरेमा त्यसअघि लागेका कर, शुल्क, दस्तुर, ब्याज तथा जरिवाना मिनाहा हुने सूचनामा उल्लेख छ ।
यसअघि विवरण बुझाउने अन्तिम म्याद २०८३ असोज मसान्त रहेको थियो। म्याद थप भएसँगै लामो समयदेखि विवरण अद्यावधिक गर्न नसकेका कम्पनीलाई कानुनी प्रक्रिया पूरा गर्ने अवसर मिल्ने मन्त्रालयको अपेक्षा छ ।









