• २०८३ कार्तिक १२ बिहीबार

महानिरीक्षकको सचिवालयले भन्यो- भ्रम फैलाउनेलाई कारबाही गर्छौं

महानिरीक्षकको सचिवालयले भन्यो- भ्रम फैलाउनेलाई कारबाही गर्छौं

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि 'राजीनामाको दबाब बढेको' भन्ने विषयमा प्रहरीले ध्यानाकर्षण भएको जनाएको छ । 

आईजीपी कार्कीको सचिवालयले बिहीबार साँझ विज्ञप्ति जारी गर्दै पुष्टि नभएका विषयलाई अनुमानका आधारमा समाचार तथा टिप्पणीका रूपमा प्रस्तुत नगर्न सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ ।

यस्ता सामग्रीले नागरिकमा नकारात्मकता सिर्जना गर्नुका साथै सुरक्षा जोखिम बढाउन र प्रहरी संगठनप्रतिको विश्वास, छवि तथा निष्ठामा असर पार्न सक्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा सुरक्षा 'संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्न सकिन्छ' भन्ने सोचका साथ सीमित व्यक्तिले यस्ता गतिविधि गरिरहेको समेत दाबी गरिएको छ ।

यस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि प्रचलित कानुनबमोजिम आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने विज्ञप्तिमा उल्लेख छ । प्रहरीले समाचार तथा सूचना प्रकाशन वा प्रसारण गर्नुअघि सम्बन्धित निकायबाट तथ्य पुष्टि गर्न र सूचनाको विश्वसनीयता सुनिश्चित गर्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ। सत्य, तथ्यपरक र विश्वसनीय सूचना प्राप्त गर्नु नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै प्रहरीले पत्रकारिताको व्यावसायिक आचारसंहिता पालना गर्न पनि अनुरोध गरेको छ ।

विज्ञप्तिमा नेपाल प्रहरी सरकारको नीति तथा निर्देशनअनुसार नागरिकप्रतिको जिम्मेवारी निर्वाह गर्न प्रतिबद्ध रहेको जनाइएको छ । कुनै पनि प्रकारका भ्रामक प्रचार, अनावश्यक दबाब वा गैरकानुनी गतिविधिबाट विचलित नभई संवैधानिक तथा कानुनी जिम्मेवारी पूरा गर्न संगठन कटिबद्ध रहेको प्रहरीले स्पष्ट पारेको छ ।

महानिरीक्षकको सचिवालयले भनेको छ- 

हाल केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा “आईजीपी दानबहादुर कार्कीमाथि राजीनामाको दबाब बढेको” भन्ने आशयका समाचार तथा टिप्पणीहरु प्रकाशित/ प्रसारित भइरहेको सम्बन्धमा नेपाल प्रहरीको गम्भीर ध्यानाकर्षण भएको छ ।

पुष्टि नभएका विषयलाई अनुमानका आधारमा समाचार तथा टिप्पणीका रूपमा प्रस्तुत गर्दा आम नागरिकमा भ्रम तथा नकारात्मकता सृजना हुने, सुरक्षा जोखिमका साथै नागरिकको सेवामा सदैव समर्पित संस्थाप्रतिको विश्वास, सांगठनिक छबि र निष्ठामा असर पर्न सक्ने भएकाले यस्ता अपुष्ट, भ्रामक, तथ्यहीन एवम् स्वार्थकेन्द्रित सूचनाको पछि नलाग्न नेपाल प्रहरी सम्पूर्ण सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सरोकारवाला सबैमा हार्दिक अनुरोध गर्दछ ।

सत्य, तथ्यपरक तथा विश्वसनीय सूचना प्राप्त गर्नु नागरिकको मौलिक अधिकार हो । उक्त अधिकारको सम्मान गर्दै समाचार तथा सूचना प्रकाशन वा प्रसारण गर्नुअघि सम्बन्धित निकायबाट तथ्य पुष्टि गर्न, सूचनाको सत्यता सुनिश्चित गर्न तथा पत्रकारिताको व्यावसायिक आचारसंहिता एवम् नागरिक प्रति राज्यको चौथो अंगको जिम्मेवारी निर्वाह गर्न नेपाल प्रहरी सबै सञ्चार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूमा हार्दिक अनुरोध गर्दछ ।

सरकारको नीति निर्देशन अनुसार नागरिक प्रतिको विधिसम्मत जिम्मेवारी एवम् उत्तरदायित्व निर्वाह गर्न नेपाल प्रहरी सदैव समर्पित छ । नेपाल प्रहरी कुनै पनि प्रकारका भ्रामक प्रचार, अनावश्यक दबाब वा गैरकानुनी गतिविधिबाट विचलित नभई आफ्नो संवैधानिक तथा कानुनी जिम्मेवारी निर्वाह गर्न कटिबद्ध रहेको साथै यस्ता भ्रामक समाचार तथा स्वार्थ केन्द्रित टिप्पणीबाट विचलित नभई उच्च मनोबलका साथ एकतावद्ध हुदै काम गर्न नेपाल प्रहरीका सकल दर्जाका कर्मचारीहरुमा निर्देशन गर्दै आम नागरिकलाई प्रमाणित, आधिकारिक एवम् तथ्यमा आधारित समाचारमा विश्वास गर्न, अपुष्ट सामग्रीको अनावश्यक प्रसार नगर्न तथा जिम्मेवार सूचना सम्प्रेषणमा सहयोग पुऱ्याउन नेपाल प्रहरी सबैमा हार्दिक अनुरोध गर्दछ ।

नेपाल प्रहरी सार्वजनिक सुरक्षा, शान्ति अमनचयन कायम गर्न, अपराध नियन्त्रण गर्न तथा नागरिकको जीउधनको सुरक्षा सुनिश्चित गर्न प्रतिबद्ध जिम्मेवार सुरक्षा संगठन हो । प्रचलित कानुन बमोजिमको जिम्मेवारी । पुरा गर्दै संगठनको प्रतिष्ठा, व्यावसायिकता तथा कार्यसम्पादनमाथि भ्रम सिर्जना गर्ने उद्देश्यले नियोजित रूपमा भ्रामक सूचना सम्प्रेषण नेपाल प्रहरीलाई कमजोर बनाउने वा सुरक्षा संगठनलाई विवादमा तानेर सरकार विरुद्ध खेल्न सकिन्छ भन्ने सोच बनाएका केही सीमित व्यक्तिहरूको चालबाजीलाई नेपाल प्रहरीले प्रचलित कानून बमोजिम आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै