काठमाडौं । बंगलादेशको राजधानी ढाकामा सुरु भएको बंगलादेश ट्राभल एन्ड टुरिजम फेयर २०२६ मा नेपाल पर्यटन बोर्डको नेतृत्वमा १५ नेपाली पर्यटन कम्पनीले नेपालको पर्यटन प्रवर्द्धन गरिरहेका छन् ।
तीन दिनसम्म चल्ने मेलामा नेपालको प्राकृतिक सौन्दर्य, हिमाली दृश्य, सांस्कृतिक सम्पदा, पदयात्रा, पर्वतारोहण र साहसिक पर्यटनलाई प्रमुख आकर्षणका रूपमा प्रस्तुत गरिएको छ ।
‘एआईमा आधारित पर्यटन, दिगो गन्तव्य’ मूल नारासहित आयोजित मेलामा नेपाली पर्यटन व्यवसायीले बंगलादेशी पर्यटकलाई नेपाल भ्रमणका लागि आकर्षित गर्ने तथा दुई देशबीच व्यावसायिक सम्बन्ध विस्तार गर्ने लक्ष्य राखेका छन् ।
यसअघि नेपाल पर्यटन बोर्ड र ढाकास्थित नेपाली राजदूतावासको सहकार्यमा अक्टोबर २८ मा ‘नेपालले बोलाइरहेको छ : भ्रमण गर्नुहोस्, अन्वेषण गर्नुहोस् र अनुभव लिनुहोस्’ नारासहित पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा नेपालको पर्यटनसम्बन्धी प्रस्तुति, सांस्कृतिक प्रदर्शनी तथा पर्यटन व्यवसायीबीच व्यावसायिक छलफल भएको थियो ।
नेपाल पर्यटन बोर्डले भौगोलिक निकटता र सांस्कृतिक समानतालाई उपयोग गर्दै बंगलादेशलाई नेपालको महत्वपूर्ण पर्यटक स्रोत बजारका रूपमा विकास गर्ने लक्ष्य राखेको छ । नेपाललाई हिमाल र पदयात्रामा मात्र सीमित नराखी संस्कृति, वन्यजन्तु, आध्यात्मिकता, स्वास्थ्य तथा आरोग्य पर्यटनको गन्तव्यका रूपमा चिनाउने अभियानलाई बोर्डले प्राथमिकता दिएको छ ।









