काठमाडौं । जाजरकोटको कुशे गाउँपालिका–२ स्थित मान्नेढुङ्गा माध्यमिक विद्यालयको पुस्तकालय अनुदान हिनामिना गरेको आरोपमा चार जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार विद्यालयको आर्थिक वर्ष २०७३/७४ को पुस्तकालय अनुदानबापत प्राप्त रकम तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिचन्द्र जैसी, सदस्य जनकबहादुर नेपाली, प्रधानाध्यापक धनबहादुर सिंह र लेखा सहायक धिरेन्द्रबहादुर सिंहले मिलेमतोमा गैरकानुनी रूपमा बाँडेर लिएको आरोप छ ।
उनीहरूले विद्यालयको १७ लाख ४१ हजार ४४६ रुपैयाँ हिनामिना गरी सार्वजनिक संस्थालाई हानिनोक्सानी पुर्याएको आयोगको दाबी छ । अनुदानको रकम सापटी लिएको देखाएर फिर्ता नगरेको उजुरीपछि गरिएको अनुसन्धानमा रकम हिनामिना भएको देखिएको आयोगले जनाएको छ ।
आयोगले आरोपितहरूविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार कैद, बिगो बराबर जरिवाना र हिनामिना भएको रकम असुलउपर गर्न मागदाबी गरेको छ । आरोपितहरूविरुद्धको कसुर भने अदालतबाट ठहर हुन बाँकी छ ।









