बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरसहित पाँच जनाविरुद्ध किर्ते मुद्दा दायर भएको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालकी लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेले आफूलाई पदमुक्त गर्न प्रयोग गरिएका विवादित पत्र र कागजातमा किर्ते तथा जालसाजी गरिएको दाबी गर्दै मंगलबार जिल्ला अदालत दाङमा मुद्दा दायर गरेकी हुन् ।
सांसद काफ्लेले जिल्ला अदालत दाङमा दायर गरेको फिराद पत्रमा सभामुख घर्ती मगरसहित प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगर, प्रदेशसभा सचिवालयका प्रवक्ता लोकमणि पाण्डे, जसपा नेपालका प्रदेशसभा सदस्य भनिएका सन्तोष पाण्डेय र पार्टीको लेटरहेड प्रयोग गरी विवादित पत्राचार गरेको आरोप लागेका अजयकुमार झालाई विपक्षी बनाइएको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यलाई विश्वासको मत दिने विषयमा दलको निर्देशन उल्लङ्घन गरेको आरोपमा यसअघि काफ्लेमाथि कारबाही प्रक्रिया अगाडि बढाइएको थियो । जसपा नेपाल संसदीय दलका नेता सन्तोषकुमार पाण्डेयको सिफारिसका आधारमा प्रदेशसभा सचिवालयले उनको पद रिक्त भएको सूचना जारी गरेको थियो । यद्यपि, पदमुक्त गर्ने सो निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेकी काफ्लेको पक्षमा अदालतले २०८३ असोज ६ गते उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।
जसपा नेपालको नाम, लेटरहेड, छाप तथा पदाधिकारीको अख्तियारी प्रयोग गरी गत २२ भदौमा प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराइएको थियो, र त्यसकै आधारमा २४ भदौमा काफ्लेलाई पदमुक्त गरिएको सूचना जारी गरिएको थियो ।









