काठमाडौँ । राष्ट्रपतीय निर्वाचनमा पराजित भएपछि ब्राजिलका दक्षिणपन्थी नेता फ्लाभियो बोल्सोनारो अमेरिका पुगेका छन् ।
मिडिया रिपोर्टमा उनी अमेरिका पुगिसकेका छन् । फ्लाभियो उनकी पत्नी र दुई छोरीसमेत अमेरिका पुगेको बताइएको छ । उनले अमेरिकामा राजनीतिक शरण माग्न सक्ने सम्भावना रहेको बताइएको छ । अमेरिकाले पनि फ्लाभियोलाई भिसा दिने घोषणा गरेको छ ।
आइतबार सम्पन्न निर्वाचनमा फ्लाभियो वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भासँग पराजित भएका थिए । निर्वाचनको दोस्रो चरणमा लुलाले ५२ प्रतिशत मत प्राप्त गर्दा फ्लाभियोले ४८ प्रतिशत मत पाएका थिए । पराजयपछि उनले निर्वाचनको नतिजा स्वीकार गरेका थिएनन् ।
यसैबीच, ब्राजिलको सर्वोच्च अदालतले सोमबार २४ घण्टाभित्र राहदानी बुझाउन आदेश दिएको थियो । भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण र कर छलीसम्बन्धी आरोपमा अनुसन्धान भइरहेका बेला देश छाड्न सक्ने आशंकामा प्रहरीले उनको खोजी गरेको थियो । राहदानी नबुझाएपछि अधिकारीहरूले उनका राहदानी रद्द गरेका छन् ।
फ्लाभियो अमेरिका जानुअघि अर्जेन्टिना पुगेको हुन सक्ने चर्चा पनि चलेको थियो । ब्राजिल र अर्जेन्टिनाको सीमाक्षेत्र नजिकै रहेको इगुआजु विमानस्थलमा निजी विमान अवतरण भएपछि अधिकारीहरूले विमान र चालकदलको जाँच गरेका थिए । तर, उडानसम्बन्धी कागजातमा बोल्सोनारो परिवारका सदस्यको नाम फेला परेको थिएन । अर्जेन्टिना सरकारले पनि फ्लाभियो देशमा आएको अभिलेख नरहेको जनाएको छ । ब्राजिल प्रहरीले भने उनी आधिकारिक सीमा जाँच चौकीबाट देश बाहिरिएको नदेखिएको बताएको थियो ।
फ्लाभियोका पिता तथा ब्राजिलका पूर्वराष्ट्रपति जैर बोल्सोनारो पनि सन् २०२२ को निर्वाचनमा लुलासँग पराजित भएपछि अमेरिका गएका थिए । पछि ब्राजिल फर्किएपछि उनलाई सत्ता पलटको षड्यन्त्र गरेको आरोपमा पक्राउ गरिएको थियो र २७ वर्षको जेल सजाय सुनाइएको थियो ।
फ्लाभियोविरुद्ध पनि भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण र कर छलीसम्बन्धी अनुसन्धान भइरहेको छ । उनले पूर्वबैंकर डानियल भोर्कारोसँग आफ्ना पिताको जीवनमा आधारित चलचित्र निर्माणका लागि करिब एक करोड २० लाख अमेरिकी डलर जुटाउने प्रयास गरेको स्वीकार गरेका छन्, तर कुनै गलत काम नगरेको दाबी गर्दै आएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि ब्राजिलको निर्वाचनमा धाँधली भएको दाबी गरेका थिए, यद्यपि त्यसको प्रमाण प्रस्तुत गरेका थिएनन् ।









