• २०८३ कार्तिक १० मंगलबार

विज्ञान, प्रविधि तथा नवप्रवर्तन परिषदको ६ सदस्यका लागि सिफारिस आव्हान

विज्ञान, प्रविधि तथा नवप्रवर्तन परिषदको ६ सदस्यका लागि सिफारिस आव्हान

काठमाडौँ । सरकारले राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन परिषद्का ६ सदस्य मनोनयनका लागि योग्य व्यक्तिहरूको नाम सिफारिस गर्न आग्रह गरेको छ ।

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले सूचना जारी गर्दै विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रमा योगदान पुर्‍याएका योग्य व्यक्तिहरूको नाम सिफारिस गर्न सम्बन्धित व्यक्ति तथा संस्थालाई आग्रह गरेको हो ।

मन्त्रालयका अनुसार नेपालको संविधानको धारा ११४ बमोजिम जारी भएको ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश, २०८३’ मा राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन परिषद्को व्यवस्था गरिएको छ । अध्यादेशको दफा ३ अनुसार प्रधानमन्त्रीको अध्यक्षतामा गठन हुने परिषद्ले विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तनको उन्नयन र विकासका लागि नीतिगत तथा कानुनी सुधार, संस्थागत विकास, प्राथमिकता निर्धारण, समन्वय, सहजीकरण र स्रोत परिचालनसम्बन्धी नीतिगत मार्गनिर्देशन गर्नेछ ।

परिषद्मा अध्यादेशको दफा ३ को उपदफा (१) को खण्ड (छ) बमोजिम उपाध्यक्षको सिफारिसमा अध्यक्षले ६ जना सदस्य मनोनयन गर्ने व्यवस्था छ । मनोनयन हुने सदस्यमध्ये कम्तीमा दुई जना महिला हुनुपर्नेछ । विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रका प्राविधिज्ञ, इन्जिनियर, अनुसन्धानकर्ता, विशेषज्ञ र प्राज्ञका साथै प्रविधि, नवप्रवर्तन तथा उद्योग व्यवसाय क्षेत्रमा विशेष अनुभव हासिल गरेका व्यक्तिहरूमध्येबाट सदस्य मनोनयन गरिनेछ ।

मन्त्रालयले परिषद्को सदस्य हुन योग्य र सक्षम व्यक्तिहरूको व्यक्तिगत विवरण (सीभी) सहितको सिफारिस सूचना प्रकाशित भएको मितिले सात दिनभित्र उपलब्ध गराउन आग्रह गरेको छ ।

इच्छुक योग्य व्यक्तिहरूको नाम सिफारिस गर्दा व्यक्तिगत विवरणसहित मन्त्रालयको इमेल ठेगाना info@mosti.gov.np मा पठाउनुपर्नेछ। मन्त्रालयले विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रमा कार्यरत प्रतिष्ठित व्यक्ति तथा संस्थालाई योग्य व्यक्तिहरू सिफारिस गर्न अनुरोध गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै