काठमाडौँ । बंगालको खाडीबाट चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेशको तटतर्फ अघि बढिरहेको छ । भारतको मौसम विभागका अनुसार यो चक्रवात अक्टोबर २७ सम्म शक्तिशाली आँधीमा परिणत हुन सक्नेछ । अक्टोबर २८ को बिहान आन्ध्र प्रदेशको तटमा ठोक्किने अनुमान गरिएको छ । त्यस क्रममा हावाको गति प्रतिघण्टा १२५ किलोमिटरसम्म पुग्न सक्ने बताइएको छ।
चक्रवातको सम्भावित जोखिमलाई ध्यानमा राख्दै आन्ध्र प्रदेशका जोखिमयुक्त क्षेत्रबाट करिब ६ लाख मानिसलाई सुरक्षित स्थानमा सार्ने तयारी गरिएको छ । मौसम विभागले राज्यका विभिन्न तटीय जिल्लामा भारी वर्षाको चेतावनी दिएको छ । माछा मार्न समुद्रमा गएका तथा जाने तयारीमा रहेका मछुवालाई अक्टोबर २९ सम्म समुद्रमा नजान आग्रह गरिएको छ ।
आन्ध्र प्रदेशसँग सीमा जोडिएको ओडिशामा पनि चक्रवातको प्रभाव पर्ने अनुमान गरिएको छ । त्यहाँ उद्धार तथा राहत कार्यका लागि ओडिशा विपद् द्रुत प्रतिकार्य बलका ६० टोली परिचालन गरिने भएको छ। चक्रवातको जोखिमलाई ध्यानमा राख्दै राज्यका छ जिल्लामा अक्टोबर २८ र २९ गते विद्यालय तथा कलेज बन्द गर्ने निर्णय गरिएको छ ।
यसैबीच, तमिलनाडुमा पछिल्ला तीन दिनदेखि लगातार वर्षा भइरहेको छ । मौसम विभागले अक्टोबर २७ मा आन्ध्र प्रदेशमा भारी वर्षाको रातो चेतावनी र ओडिशामा सुन्तला चेतावनी जारी गरेको छ । छत्तीसगढ, तेलङ्गाना, तमिलनाडु, पुडुचेरी, केरल, कर्नाटक र रायलसीमामा वर्षाको पहेँलो चेतावनी दिइएको छ। अक्टोबर २८ मा आन्ध्र प्रदेश, छत्तीसगढ, तेलङ्गाना र ओडिशामा भारी वर्षाको रातो चेतावनी जारी गरिएको छ भने झारखण्डमा सुन्तला र पश्चिम बंगालसहित विभिन्न क्षेत्रमा पहेँलो चेतावनी दिइएको छ।









