काठमाडौं । दक्षिण अफ्रिकाले दोस्रो टेस्टमा अस्ट्रेलियालाई एक इनिङ्स र ३१ रनले पराजित गरेको छ । योसँगै तीन खेलको टेस्ट शृङ्खला १–१ को बराबरीमा पुगेको छ । अस्ट्रेलिया तीन वर्षपछि पहिलो पटक इनिङ्स अन्तरले पराजित भएको हो ।
वर्षाका कारण खेलका पहिलो दुई दिन जम्मा ४३ ओभर मात्रै सम्भव भएको थियो । त्यसपछि दक्षिण अफ्रिकाले कप्तान टेम्बा बावुमाको १७९ रनको शतकीय पारीको मद्दतमा पहिलो इनिङ्स ९ विकेट गुमाएर ४२५ रनमा घोषित गरेको थियो। मार्को यानसनले ८५ र साइमन हार्मरले ८२ रन बनाए ।
जवाफमा अस्ट्रेलियाको पहिलो इनिङ्स ९९ रनमै समेटियो । स्टिभ स्मिथले सर्वाधिक २८ रन बनाए। दक्षिण अफ्रिकाका मार्को यानसनले पाँच विकेट लिए भने कागिसो रबाडा र वियान मुल्डरले दुई–दुई विकेट हात पारेका थिए ।
फलोअनमा परेको अस्ट्रेलियाले दोस्रो इनिङ्समा २९५ रन बनायो । ट्राभिस हेडले १२१ रनको शतकीय पारी खेले पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। एलेक्स केरी ३७ रनमा अविजित रहे ।
दक्षिण अफ्रिकाका रबाडाले दोस्रो इनिङ्समा चार, मुल्डरले तीन र हार्मरले दुई विकेट लिए । रबाडा र यानसनले खेलमा कुल ६–६ विकेट लिएका थिए । अस्ट्रेलिया सन् २०२३ मा भारतसँग इनिङ्स अन्तरले पराजित भएयता पहिलो पटक यसरी हारेको हो । दोस्रो टेस्टमा दक्षिण अफ्रिकाको जितसँगै तीन खेलको शृङ्खला १-१ खेलको बराबरी भएको छ भने तेस्रो तथा निर्णायक खेल अक्टोबर २७ देखि केपटाउनमा हुने तालिका छ ।









2026-10-22-05-52-35_1000x584_50.webp)