काठमाडौँ । युक्रेनी सेनाले प्रयोग गर्दै आएको स्टारलिंक र सैन्य प्रयोजनको स्टारसिल्ड उपग्रह इन्टरनेट सेवामा प्रतिबन्ध लगाइएको विषयलाई लिएर अमेरिकामा विवाद चर्किएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी सेनाको इन्टरनेट पहुँच सीमित गर्ने आदेश आफूले नदिएको बताएका छन् ।
स्पेसएक्सका प्रमुख एलन मस्कले भने स्टारसिल्ड प्रणालीको स्वामित्व र नियन्त्रण अमेरिकी सरकारसँग रहेको बताएका छन् ।
समाचार संस्था सीएनबीसीका अनुसार पूर्वसूचनाबिना इन्टरनेट सम्पर्क सीमित गरिँदा युक्रेनी सेनाका केही सैन्य अभियान प्रभावित भएका छन्। यसबाट ड्रोन सञ्चालन, निगरानी र सैन्य सूचनाको आदानप्रदानमा समेत असर परेको बताइएको छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सल्लाहकारले प्रतिबन्धबारे सेनालाई पूर्वजानकारी नदिइएको र यसका कारण केही सैन्य अभियान असफल भएको बताएका छन् ।
यस घटनापछि पोल्याण्डका उपप्रधानमन्त्रीले पनि मस्कको भूमिकामाथि प्रश्न उठाएका छन् । उनले प्रविधिको प्रयोग राजनीतिक उद्देश्यका लागि भइरहेको हो कि भन्ने आशंका व्यक्त गरेका छन् । तर प्रतिबन्ध कसले लगाएको हो र यसको वास्तविक दायरा कति हो भन्ने विषय अझै स्पष्ट भएको छैन ।









