काठमाडौँ । बलिउड अभिनेता सलमान खानले भविष्यमा आफूका सन्तान हुने बताएका छन् । करण जोहरको च्याट शो ‘कफी विद करण ९’ को पहिलो भागमा सहभागी हुँदै उनले विवाह, एक्लोपन र निजी जीवनबारे कुरा गरेका हुन् ।
जियोहटस्टारमा प्रसारण भएको कार्यक्रममा अभिनेत्री करिश्मा कपुर पनि सहभागी थिइन् । कार्यक्रममा करण जोहरले सलमानलाई सन्तान जन्माउने इच्छाबारे सोधेका थिए । जवाफमा सलमानले कुनै न कुनै समयमा आफ्ना सन्तान हुने बताए ।
विवाह नगरेको विषयमा कुरा गर्दै सलमानले आफू र करण दुवैले आफ्नै निर्णयका कारण विवाह नगरेको बताएका थिए । उनले आफ्नो निर्णयका लागि अरूलाई दोष दिन नमिल्ने उल्लेख गर्दै आफू आफ्नो निर्णयमा खुसी रहेको बताए ।
सलमानले करिब १३ वर्षअघि दिएको ‘म भर्जिन छु’ भन्ने अभिव्यक्तिबारे पनि कुरा गरे । उनले निजी सम्बन्धबारे सार्वजनिक रूपमा बोल्दा भविष्यमा सम्बन्धित व्यक्ति आफ्नो जीवनमा रहिरहन्छ कि रहँदैन भन्ने निश्चित नहुने बताए । उनका अनुसार उनका पिता सलिम खानले निजी जीवनलाई शयनकक्ष र सार्वजनिक जीवनलाई बैठक कोठासँग तुलना गर्दै निजी कुरा निजी नै राख्न सिकाएका थिए ।
कार्यक्रममा अभिनेता सञ्जय दत्तको भिडियो सन्देश पनि देखाइएको थियो । सञ्जयले सलमानलाई बच्चाहरू निकै मन पर्ने बताउँदै उनको पनि सन्तान भएको हेर्न चाहेको उल्लेख गरेका थिए। उनले सलमानको काखमा सानो सलमान खेलिरहेको हेर्ने इच्छा व्यक्त गरेका थिए ।
सलमानको जीवनमा आधारित चलचित्र बनेमा कुन निर्देशक उपयुक्त हुन्छन् भन्ने प्रश्नमा उनले सूरज बडजात्या, कबिर खान, सञ्जय लीला भन्साली र डेभिड धवनको नाम लिए । हास्य चलचित्रका लागि डेभिड धवन, प्रेमकथाका लागि सूरज बडजात्या, दुःखान्त प्रेमकथाका लागि सञ्जय लीला भन्साली र एक्सनप्रधान प्रेमकथाका लागि कबिर खान उपयुक्त हुने उनको भनाइ थियो ।
तर सलमानले आफ्नो जीवनमा आधारित चलचित्र कहिल्यै नबन्ने स्पष्ट पारे । उनले आफ्नो जीवनको कथा आफू चिहानमा पुगेपछि मात्रै समाप्त हुने आशय व्यक्त गर्दै निजी जीवनबारे टिप्पणी गरेका थिए ।









