काठमाडौँ । प्रतिकूल मौसम र कम दृश्यताका कारण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हुने उडान अवरोध, अन्य विमानस्थलमा मोड्नुपर्ने र उडान रद्द हुने समस्या न्यूनीकरण गर्न आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा अनुमति आवश्यक पर्ने विशेष कार्यसम्पादनमा आधारित हवाई मार्गनिर्देशन तथा अवतरण प्रणाली (आरएनपी–एआर) लागू गर्न प्रारम्भिक प्राविधिक अध्ययन सम्पन्न गरेको छ ।
हाल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रेडियो सङ्केतमा आधारित मार्गनिर्देशन तथा अवतरण प्रणाली सञ्चालनमा छ। विमानस्थलको भौगोलिक अवस्थिति र आसपासका पहाडी भू–बनोटका साथै प्राविधिक तथा सञ्चालनसम्बन्धी सीमितताले प्रतिकूल मौसममा उडान सञ्चालन चुनौतीपूर्ण हुने गरेको छ ।
नयाँ प्रणाली उपग्रहमा आधारित हुनेछ। यसलाई कार्यान्वयनमा ल्याउन विस्तृत प्रक्रिया डिजाइन, प्राविधिक प्रमाणीकरण, सुरक्षा मूल्याङ्कन र नियामकीय स्वीकृतिलगायत प्रक्रिया पूरा गर्नुपर्नेछ ।
प्रणाली लागू भएपछि कम दृश्यताका कारण हुने उडान अवरोध, अन्य विमानस्थलमा मोड्नुपर्ने अवस्था तथा उडान रद्द हुने घटनामा कमी आउने अपेक्षा गरिएको छ। यसले पोखराको हवाई सेवालाई थप नियमित, भरपर्दो र सुरक्षित बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल (गनेस) ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपी–एआर अवतरण प्रक्रिया कार्यान्वयनको प्रक्रिया अघि बढ्नु हवाई सेवालाई सुरक्षित र विश्वसनीय बनाउने दिशामा महत्त्वपूर्ण कदम भएको बताएका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले आधुनिक प्रविधिमा आधारित हवाई मार्गनिर्देशन प्रणालीको विकास तथा कार्यान्वयनमार्फत हवाई यातायातलाई सुरक्षित, नियमित र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ ।









