• २०८३ असोज २८ बुधबार

रास्वपाले स्थानीय तहका उम्मेदवार छान्न तीन चरणको प्रक्रिया अपनाउने

रास्वपाले स्थानीय तहका उम्मेदवार छान्न तीन चरणको प्रक्रिया अपनाउने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न योग्यता, नेतृत्व क्षमता र पारदर्शी मूल्याङ्कनमा आधारित तीन चरणको प्रक्रिया अघि सारेको छ। पार्टीले सार्वजनिक गरेको ‘स्थानीय तह उम्मेदवार छनोट रूपरेखा, २०८३’ अनुसार आकाङ्क्षीले उम्मेदवार क्लबमा आवेदन, लिडरसिप एकेडेमीमा प्रशिक्षण र छनोट रूपरेखामा आधारित परीक्षण पार गर्नुपर्नेछ ।

रास्वपाबाट स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न नेपाली नागरिक हुनुपर्ने, मनोनयनपत्र दर्ताको अन्तिम मितिसम्म २१ वर्ष पूरा गरेको हुनुपर्ने र सम्बन्धित गाउँपालिका वा नगरपालिकाको वडाको मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्नेछ। साथै, प्रचलित कानुनले उम्मेदवार हुन अयोग्य नठहर्‍याएको हुनुपर्ने व्यवस्था छ ।

पार्टीको विधानअनुसार आकाङ्क्षी रास्वपाको सक्रिय सदस्य हुनुपर्ने तथा पार्टीको विचार, सिद्धान्त र सार्वजनिक प्रतिबद्धताप्रति पूर्ण रूपमा प्रतिबद्ध हुनुपर्नेछ। अन्य राजनीतिक दलको सदस्यता त्यागेको हुनुपर्ने र पार्टीले माग गरेका आवश्यक कागजात उपलब्ध गराउन तयार हुनुपर्नेछ।

उम्मेदवारले शैक्षिक प्रमाणपत्रको सत्यता पुष्टि गर्नुपर्नेछ। सम्पत्ति विवरण, प्रहरी चारित्रिक प्रमाणपत्र, आर्थिक कारोबार, स्वार्थको द्वन्द्व तथा अदालत वा अन्य निकायमा विचाराधीन कानुनी विवादसम्बन्धी विवरणसमेत खुलाउनुपर्ने व्यवस्था गरिएको छ। घरेलु हिंसा, यौन दुर्व्यवहार, सार्वजनिक रूपमा अमर्यादित व्यवहार र डिजिटल दुर्व्यवहारमा संलग्न नरहेको स्वघोषणा पनि गर्नुपर्नेछ ।

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया तीन चरणमा अघि बढाउने रूपरेखामा उल्लेख गरेको छ। पहिलो चरणमा आकाङ्क्षीले पार्टीको उम्मेदवार क्लबमा औपचारिक आवेदन दिनुपर्नेछ। यस क्रममा व्यक्तिगत पृष्ठभूमि, अनुभव, विशेषज्ञता र आधारभूत योग्यताको विवरण सङ्कलन तथा परीक्षण गरिनेछ।

दोस्रो चरणमा लिडरसिप एकेडेमीमार्फत प्रशिक्षण दिइनेछ। त्यसपछि तेस्रो चरणमा निर्धारित मापदण्डका आधारमा आकाङ्क्षीहरूको परीक्षण र मूल्याङ्कन गरिनेछ। मूल्याङ्कनमा सार्वजनिक आचरण, नेतृत्व क्षमता, स्थानीय समुदायसँगको सम्बन्ध, संगठनात्मक क्षमता, जनविश्वास र निर्वाचनमा प्रतिस्पर्धा गर्न सक्ने सम्भावनालाई आधार बनाइनेछ।

रूपरेखाअनुसार उम्मेदवार छनोटमा प्रारम्भिक निर्वाचनबाट प्राप्त मतलाई पनि समावेश गरिनेछ। मतभारसहित विभिन्न सूचकमा प्राप्त अङ्कलाई समग्र मूल्याङ्कनमा जोडेर उम्मेदवारको छनोट गरिनेछ। महिला, युवा तथा विभिन्न सामाजिक र भौगोलिक समुदायको प्रतिनिधित्वलाई समेत ध्यान दिइनेछ। अन्तिम सूचीमा परेका आकाङ्क्षीको कानुनी योग्यता र समावेशितासम्बन्धी मापदण्ड परीक्षण गरेपछि मात्रै आधिकारिक उम्मेदवारका रूपमा प्रमाणित गरिने व्यवस्था छ।

रास्वपाले लिडरसिप एकेडेमीलाई उम्मेदवारको नेतृत्व क्षमता विकास गर्ने र स्थानीय तहको जिम्मेवारी सम्हाल्न तयार पार्ने महत्त्वपूर्ण चरणका रूपमा राखेको छ। उम्मेदवार बन्न चाहने आकाङ्क्षीलाई स्थानीय शासन सञ्चालन, नागरिक सेवा प्रवाह, नीति निर्माण, सुशासन, सार्वजनिक वित्त व्यवस्थापन, नागरिक सहभागिता र नेतृत्वका विविध पक्षमा प्रशिक्षण दिने लक्ष्य राखिएको छ।

एकेडेमीको उद्देश्य उम्मेदवारलाई निर्वाचन जित्ने प्रतिस्पर्धामा मात्रै सीमित नराखी निर्वाचित भएपछि प्रभावकारी रूपमा काम गर्न सक्ने बनाउनु हो। स्थानीय आवश्यकता र उपलब्ध स्रोतसाधन बुझ्ने, नागरिकका समस्या सम्बोधन गर्ने तथा स्थानीय सरकारलाई परिणाममुखी ढङ्गले सञ्चालन गर्न सक्ने नेतृत्व विकासमा जोड दिइएको छ।

यसका साथै, एकेडेमीमा गरिएको मूल्याङ्कनलाई उत्तीर्ण वा अनुत्तीर्णमा मात्रै सीमित नराखी प्राप्त अङ्कलाई अन्तिम उम्मेदवार छनोटको समग्र मूल्याङ्कनमा समावेश गरिने व्यवस्था गरेको छ । यसबाट व्यक्तिगत पहुँच वा नेताको निर्णयभन्दा निर्धारित मापदण्ड, क्षमता र प्राप्ताङ्कका आधारमा उम्मेदवार छनोट गर्ने प्रणाली विकास गर्ने पार्टीको लक्ष्य रहेको उल्लेख छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै