काठमाडौँ । भारतीय क्रिकेट टोलीका पूर्वअलराउन्डर युवराज सिंह इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी सिजनका लागि दिल्ली क्यापिटल्सको सहायक तथा ब्याटिङ प्रशिक्षक नियुक्त भएका छन् ।
दिल्लीले युवराजलाई नयाँ जिम्मेवारी दिएको घोषणा गरेको हो । यसअघि सौरभ गांगुलीलाई टोलीको मुख्य प्रशिक्षक नियुक्त गरिएको थियो । युवराजका लागि यो पहिलो औपचारिक प्रशिक्षकीय जिम्मेवारी हो ।
युवराजले दिल्ली क्यापिटल्ससँग नयाँ अध्याय सुरु गर्न उत्साहित रहेको बताएका छन् । उनले गांगुलीसँग खेलाडीका रूपमा काम गरिसकेको र अब प्रशिक्षकका रूपमा सहकार्य गर्न पाउँदा खुसी लागेको बताएका छन् ।
दिल्ली क्यापिटल्सका सहमालिक पार्थ जिन्दालले युवराजको अनुभव, जित्ने मानसिकता र खेलाडीसँग घुलमिल हुन सक्ने क्षमताले टोलीलाई फाइदा पुग्ने बताएका छन् ।
युवराजले सन् २०१५ मा दिल्लीबाट १४ खेल खेलेका थिए । त्यसबेला उनलाई १६ करोड भारतीय रुपैयाँमा अनुबन्ध गरिएको थियो, जुन त्यतिबेला आईपीएलकै सर्वाधिक मूल्य थियो । युवराजले आफ्नो आईपीएल करियरमा १३२ खेल खेल्दै २ हजार ७५० रन बनाउनुका साथै ३६ विकेट लिएका थिए। उनले सन् २०१९ मा सबै प्रकारका क्रिकेटबाट सन्न्यास लिएका थिए ।









