• २०८३ असोज २७ मंगलबार

इन्डोनेसियाली पाइलट भएका कारण इथियोपियाली विमानलाई इजरायलमा अवतरण रोक

इन्डोनेसियाली पाइलट भएका कारण इथियोपियाली विमानलाई इजरायलमा अवतरण रोक

काठमाडौँ । इथियोपियाली वायुसेवा निगमको मालवाहक विमानलाई पाइलट इन्डोनेसियाली नागरिक भएको कारण इजरायलमा अवतरण गर्न अनुमति नदिइएपछि बीच बाटोबाटै फर्काइएको छ ।

इथियोपियाको राजधानी अदिस अबाबाबाट आएको विमानलाई आइतबार राति इजरायलले अवतरण अनुमति नदिएको हो । इजरायल र इन्डोनेसियाबीच कूटनीतिक सम्बन्ध छैन । पछि पाइलट परिवर्तन गरिएपछि विमानलाई इजरायल जान अनुमति दिइएको थियो ।

विमानमा इन्धन धेरै भएकाले फर्कने क्रममा तौल घटाउन समुद्रमाथि इन्धन खसाल्नुपरेको थियो । विमान उडिसकेपछि मात्र चालकदलका सदस्यहरूको विवरण इजरायललाई पठाइएको बताइएको छ ।

यो घटना दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाईदुबईको विमानमा दुई साताअघि एक पाइलटले सहपाइलटमाथि चक्कु प्रहार गरेको घटनापछि भएको हो । उक्त घटनापछि इजरायलले विदेशी वायुसेवाका पाइलट तथा चालकदलका सदस्यको सुरक्षा जाँच कडा बनाएको छ ।

नयाँ नियमअनुसार इजरायलसँग कूटनीतिक सम्बन्ध नभएका देशका नागरिकलाई इजरायल आउने उडानमा पाइलट वा चालकदलका सदस्यका रूपमा काम गर्न रोक लगाइएको छ । दोहोरो नागरिकता भएका व्यक्तिमा पनि यो नियम लागू हुने बताइएको छ ।

इजरायली सुरक्षा निकायहरूले विदेशी वायुसेवाका कर्मचारीको जाँचमा कमजोरी रहेको भन्दै पहिले पनि चेतावनी दिएका थिए । पछिल्लो घटनापछि इजरायलले विदेशी वायुसेवाहरूलाई सुरक्षा नियमको पालना सुनिश्चित गर्न निर्देशन दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै