• २०८३ असोज २७ मंगलबार

अमेरिकासँग सबैभन्दा धेरै सुन

अमेरिकासँग सबैभन्दा धेरै सुन

काठमाडौं । विश्वमा सबैभन्दा धेरै सुन सञ्चय गर्ने देश अमेरिका हो । अमेरिकासँग ८ हजार १३३ टन सुन रहेको छ । सुन सञ्चयका आधारमा जर्मनी दोस्रो, इटाली तेस्रो, फ्रान्स चौथो र चीन पाँचौँ स्थानमा रहेका छन् । चीनले रुसलाई पछि पार्दै विश्वका धेरै सुन सञ्चय गर्ने देशको सूचीमा पाँचौँ स्थान हासिल गरेको हो ।

वित्तीय विश्लेषण मञ्च ‘द कोबेसी लेटर’का अनुसार चीनसँग २ हजार ४१० टन सुन सञ्चय रहेको छ । फ्रान्ससँग २ हजार ४३७ टन र इटालीसँग २ हजार ४५२ टन सुन छ । चीन फ्रान्सभन्दा २७ टन र इटालीभन्दा ४२ टन मात्रै पछाडि छ । रुससँग २ हजार ३०५ टन सुन रहेको छ ।

सुन सञ्चयका आधारमा अमेरिका पहिलो स्थानमा छ । अमेरिकासँग रहेको सुनको मात्रा दोस्रो स्थानमा रहेको जर्मनीको तुलनामा दोब्बरभन्दा बढी हो । जर्मनीसँग ३ हजार ३५१ टन सुन छ । त्यस्तै, इटालीसँग २ हजार ४५२ टन र फ्रान्ससँग २ हजार ४३७ टन सुन रहेको छ ।

अन्य देशमध्ये स्विट्जरल्यान्डसँग १ हजार ४० टन, भारतसँग ८८१ टन, जापानसँग ८४६ टन र नेदरल्यान्ड्ससँग ६१३ टन सुन रहेको विवरणमा उल्लेख छ । यस सूचीमा भारत आठौँ स्थानमा छ ।

चीनको केन्द्रीय बैंकले पछिल्लो समय लगातार सुन खरिद गरिरहेको छ । चीनले लगातार २३ महिनादेखि सुन खरिद गर्दै आएको छ । सन् २०२६ को सेप्टेम्बरमा मात्रै चीनले २३ टनभन्दा बढी सुन खरिद गरेको थियो । पछिल्लो एक वर्षमा कुनै एक महिनामा गरिएको यो सबैभन्दा ठूलो खरिद भएको विवरणमा उल्लेख छ ।

यसअघि जुलाई र अगस्टमा पनि चीनले प्रत्येक महिना २० टनभन्दा बढी सुन थपेको थियो । सेप्टेम्बरसम्म चीनले यस वर्ष कुल १०३ टनभन्दा बढी सुन खरिद गरिसकेको छ । यही गति कायम रहेमा चीनले यस वर्षको अन्त्यसम्म इटाली र फ्रान्सलाई उछिनेर विश्वको तेस्रो ठूलो सुन सञ्चयकर्ता बन्न सक्ने अनुमान गरिएको छ ।

यसैबीच, अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ । ब्लुमबर्गका अनुसार सुनको मूल्य प्रतिऔँस करिब ४ हजार २०७ अमेरिकी डलर पुगेको छ भने चाँदीको मूल्य प्रतिऔँस ६१.१२ डलर पुगेको छ ।

कच्चा तेलको मूल्य घट्दा मुद्रास्फीतिको चिन्ता केही कम हुनु र अमेरिकी केन्द्रीय बैंकले ब्याजदर वृद्धि रोक्न सक्ने अपेक्षा बढ्नु सुनको मूल्य वृद्धिका प्रमुख कारण मानिएका छन् । आर्थिक तथा राजनीतिक अनिश्चितताका बेला सुरक्षित लगानीको विकल्पका रूपमा सुनप्रति लगानीकर्ताको आकर्षण बढ्ने गरेको छ ।

फेब्रुअरीमा अमेरिका र इरानबीच युद्ध सुरु भएपछि मुद्रास्फीति बढ्ने चिन्ताका कारण सुनको मूल्य करिब २० प्रतिशतसम्म घटेको थियो । अहिले बजारमा सुधार देखिए पनि आगामी दिनमा अमेरिकाको मुद्रास्फीतिसम्बन्धी तथ्याङ्क र त्यहाँको केन्द्रीय बैंकका अभिव्यक्तिले सुनको मूल्यको दिशा निर्धारण गर्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै