काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा खुलातर्फ महामन्त्री पदमा पराजित भएपछि गुरु घिमिरेले नयाँ शिराबाट आफ्नो राजनीतिक यात्रा अघि बढाउने बताएका छन् ।
घिमिरेले आफूलाई विश्वास गरेर अमूल्य मत दिने सम्पूर्ण महाधिवेशन प्रतिनिधिप्रति आभार व्यक्त गर्दै प्राप्त १ हजार ५१३ मत आफ्नो राजनीतिक यात्राका लागि ठूलो प्रेरणा भएको बताएका छन् ।
उनले महाधिवेशनबाट उपसभापति तथा विभिन्न पदाधिकारीमा निर्वाचित भएका सबैलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना पनि दिएका छन् ।
घिमिरेले नयाँ नेतृत्वले पार्टीभित्रको सामर्थ्य बढाउने, आपसी एकता र हार्दिकता अभिवृद्धि गर्ने तथा मूल्याङ्कन पद्धति र निर्णय प्रक्रियालाई वस्तुनिष्ठ र पारदर्शी बनाउने अपेक्षा व्यक्त गरेका छन् ।
पार्टीलाई विधिसम्मत रूपमा सञ्चालन गर्दै आगामी दुवै तहका निर्वाचनमा सफलता हासिल गर्नुपर्नेमा पनि उनले जोड दिएका छन् । ‘लोकतन्त्रमा हार–जित स्वाभाविक प्रक्रिया हो। म यस परिणामबाट विचलित नभई नयाँ शिराबाट आफ्नो राजनीतिक यात्रा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले भनेका छन् । उनले अबको राजनीति फरक सोच, शैली र संस्कारसहित अघि बढ्ने उल्लेख गर्दै निष्ठा, विचार, संवाद, इमानदारी र पार्टी रूपान्तरणलाई प्रमुख आधार बनाउने बताएका छन् ।
यो अन्त्य नभई नयाँ सुरुवात भएको उल्लेख गर्दै घिमिरेले नेपाली कांग्रेसलाई थप गतिशील, लोकतान्त्रिक र जनउत्तरदायी बनाउने अभियानमा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।









